धनगढी- बाजुरामा आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन्। यस्तै, दर्जनभन्दा बढी घर र बेलिब्रिजसमेत बगाएको छ।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेका अनुसार बुढीगंगा नदीको बाढीले घर बगाउँदा बडिमालिका नगरपालिका–२ का वडाअध्यक्ष डम्मर महतकी ६५ वर्षीय आमा अइसेनी बेपत्ता भएकी हुन्।
बुढीगंगा नदीमा आएको बाढीले बाजुराको बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको उनले बताए।
उनका अनुसार बाढीले घागर, भौनेरा, राप्का लगायतका क्षेत्रमा दर्जनभन्दा बढी घर बगाएको छ। उनले भने, “क्षतिको यकिन तथ्यांक संकलन भइरहेको छ।”
घरबाट भागेर ज्यान जोगाएकाहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रले बताए।
“अहिले पनि वर्षा भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी गैह्रले भने, “उद्दारका लागि हिँडेको तीनवटै सुरक्षा निकायको टोली सदरमुकाम नजिकैको सेलाघाटको पहिरोका कारण अगाडि बढ्न सकेको छैन।”
बाढीले साफे–मार्तडी सडकअन्तर्गत बुढीगंगा नदीमाथि बनाएको बेलिबिज्रसमेत बगाएको उनले बताए।