काठमाडौं- आईसीसी वर्ल्डकप लीग-२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ। सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङपछि नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।
मस्कटको अल अमेरत रंगशालामा आइतबार भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा लक्ष्य भेटाएको हो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरेका हुन्। मल्लले ४६ बल खेल्दै २ छक्का र ४ चौका प्रहार गरेर ५२ रन बनाए।
उनले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको साझेदारी गरे भने ४४ बल खेलेका शेखले ४० रन बनाए। ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६ रन बनाएर आउट भएका थिए।
सन्दीप लामिछाने र करन केसीले चार-चार विकेट लिएपछि ओमान सस्तैमा समेटिएको थियो। ओमान ३८ ओभर खेल्दै १२१ रनमा अल आउट भएको थियो।