काठमाडौं– त्रिकोणात्मक सिरिजका लागि ओमनमा रहेको नेपाली क्रिकेट टिमले संविधान दिवस मनाएको छ। आइतबार ओमनसँग खेल्नुअघि मैदानमै केक काटेर संविधान दिवस मनाइएको हो।
ओमनको अल अमारतस्थित क्रिकेट मैदानमा ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, ओमन क्रिकेट संघका प्रमुख पंकज खिमजी र नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेका थिए। कप्तान ज्ञानेन्द्र मल्लका बुबा बितेको एक वर्ष नपुगेका कारण उनी भने साथमा उभिएका मात्र थिए। केकमा नेपाल र ओमनको झण्डा बनाइएको थियो।
केक काटेपछि राजदूत ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै आजको खेलमा जितका लागि शुभकामना दिएकी थिइन्।
यसबाहेक संविधान दिवसको अवसरमा शनिबार साँझ नेपालको दूतावास परिसरमा दीप प्रज्वलन गरिएको थियो। साथै आजै बिहान दूतावासमा राजदूत ढकालले नेपालको झन्डा झन्डोत्तोलन गरेकी थिइन्। त्यस्तै, नेपाल र ओमनबीचको खेल हेर्न क्रिकेट मैदान आइपुगेका दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो।