विराटनगर– मोरङमा आइतबारसम्म क्वारेन्टिनमा बस्नेको संख्या ४५२ छ। तीमध्ये विद्यालयका क्वारेन्टिनमा ३७४ जना र अन्यत्र ७८ जना छन्।
यहाँका ७५ विद्यालयमा राखिएका क्वारेन्टिनमध्ये ४४ वटा खाली भएका छन्।
“विद्यालयबाट तत्काल क्वारेन्टिन हटाउन सकिँदैन”
सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरे पनि मोरङका स्थानीय तहले तत्काल हटाउन सक्ने अवस्था नभएको बताएका छन्।
सरकारले शैक्षिक सत्र २०७७/७८ को विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने र ०७६/७७ को नतिजा प्रकाशन बाँकी भए तत्काल गर्ने, भदौ १ देखि विद्यार्थी भर्ना गर्ने, कक्षागतरुपमा विद्यार्थीको संख्या यकिन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने र शिक्षक अबिलम्ब विद्यालय पुग्ने व्यवस्था गर्ने निर्णय गरे पनि यहाँका स्थानीय तहका प्रमुखहरुले विद्यालयमा रहेका क्वारेन्टिन तत्काल हटाउन सक्ने अवस्था नभएको बताएका छन्।
मोरङका १७ वटा स्थानीय तहहरुमध्ये सुनवर्षी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले धेरै क्वारेन्टिन विद्यालयमा बनाएको छ।
विद्यालयमा भएका क्वारेन्टिन अन्यत्र सार्न तत्काल सम्भव नभएको सुनबर्षी नगरपालिकाका प्रमुख कालिप्रसाद दासले बताए। उनले वर्षाको समयमा अन्यत्र क्वारेन्टिन तयार गर्न सक्ने अवस्था नभएको बताए। संघीय सरकारले विद्यालयबाट क्वारेन्टिन हटाउन भने पनि तत्काल सुनबर्षीमा सम्भव नभएको दासको भनाई छ।
“विकल्पको खोजी गरेका छौं,” उनले भने, “ सुनबर्षीमा विद्यालयबाहेक क्वारेन्टिन बनाउने भवन नै छैन।”
सुनबर्षी नगरपालिकाले मदर्शासहित १७ वटा विद्यालयलाई क्वारेन्टिन बनाएको थियो। अहिले धेरै क्वारेन्टिन खाली भएको प्रमुख दासले बताए। उनका अनुसार अहिले दुई वटा क्वारेन्टिनमा मात्र प्रयोगमा छन्।
मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्यले संघीय सरकारको निर्णय कार्यान्वयन गर्न विकल्पको खोजी भइरहेको बताए। गाउँपालिकाले विकल्पको खोजी गरे पनि तत्काल विद्यालयबाट क्वारेन्टिन भने हटाउन नसकिने उनको भनाई छ।
मिक्लाजुङ गाउँपालिकाले १३ वटा क्वारेन्टिन विद्यालयमा बनाएको थियो। गाउँपालिका प्रमुख आचार्यले अहिले दुई वटा क्वारेन्टाइन मात्र प्रयोगमा रहेको बताए।
शैक्षिक संस्थामा ७५ वटा क्वारेन्टिन
मोरङमा ९९ स्थानमा क्वारेन्टिन बनाइएको छ। अधिकांश विद्यालयमा क्वारेन्टिन छन्। मोरङमा ९९ मध्ये ७५ स्थानका क्वारेन्टिन विद्यालय र क्याम्पसमा छन्।
मोरङका १७ वटा स्थानीय तहमध्ये १६ ले क्वारेन्टिनका रुपमा कलेज र विद्यालयलाई प्रयोग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिकाले १–१ वटा विद्यालय, पथरी शनिश्चरे, लेटाङ र रंगेली नगरपालिकाले १–१ वटा क्याम्पस, मिक्लाजुङ गाउँपालिका र रतुवामाई नगरपालिकाले १३–१३ विद्यालय, सुनबर्षी नगरपालिकाले मदर्शासहित १७ वटा विद्यालय, धनपालथान गाउँपालिकाले १० वटा विद्यालय, बुढीगंगा र जहदा गाउँपालिकाले ३–३ विद्यालय, कटहरी र ग्रामथानले ४–४ वटा विद्यालय, कानेपोखरी र केराबारीले १–१ वटा विद्यालयमा क्वारेन्टिन बनाएका छन्।
मोरङको सुन्दरहरैचाले क्वारेन्टिन विद्यालयमा बनाएको छैन। उसले सामुदायिक भवनमा क्वारेन्टिन बनाएको छ।
कुन विद्यालयमा कति?
मोरङका ३१ विद्यालयका क्वारेन्टिनमा अहिले भारत लगायतका विभिन्न देशबाट आएकाहरु बसेका छन्।
मोरङ प्रहरीका अनुसार राधिका मावि उर्लाबारीमा ३७, जनता क्याम्पस रंगेलीमा १६, धिरनाथ सम्फुल मावि, बेलबारीमा २४, सरस्वती मावि कल्याणपुरमा ३२, सिजुवा माविमा ३६, पथरी शनिश्चरेको पथरी क्याम्पसमा ३१, सुनबर्षीको जनता मावि टकुवामा २, स्लामिक मदर्शा सिक्टीमा १४ र आदर्श मावि डाईनियनामा २७ जना बसेका छन्।
यस्तै, लेटाङको लेटाङ क्याम्पसमा २१, मिक्लाजुङको बालकल्याण आधारभूत विद्यालयमा १, कालिका मावि २, सरस्वती मावि ६, सरस्वती आधारभुत १०, जलेश्वरी आधारभुत ८, मनोहर मावि ३, देवकोटा मावि ५, धनपाल गाउँपालिकाको फोकनी मावि दुर्गापुरमा २, धामो आधारभुत विद्यालयमा १, शारदा मावि कर्सियामा १, किसान आधारभूत विद्यालयमा ३, सर्वाेदय मावि कदमाहा १, दुर्गा माविमा ५, कटहरीको जनप्रिय माविमा ५, ग्रामथानको वीरेन्द्र मावि लखन्तरीमा २, सरस्वती मावि झोराहाटमा २, महेन्द्र मावि मोतिपुरमा १, कानेपोखरीको जनसेवामा ३७, बूढीगंगाको नारायण माविमा १६, मधुग्राम आधारभुत विद्यालयमा ९, केराबारीको मछिन्द्र माविमा १४ जना क्वारेन्टिनमा रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।