उदयपुर (कटारी)– प्रदेश १ सरकारले १० वर्षदेखि खोरमा थुनेर राखिएका एक व्यक्तिको उद्धार गरेको छ।
शनिबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सदस्य कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, सामाजिक अभियान्ता मञ्जिता उपाध्याय र मानव सेवा आश्रमका प्रतिनिधि कटारी १ कालिखोलाका ५७ वर्षीय तर्कबहादुर अधिकारी (खत्री) लाई उद्धार गर्न उनको घर पुगेका थिए।
उनलाई घर परिवारले घरदेखि २ सय मिटर पर बाँसघारीमा बनाइएको खोरमा थुनेर राखेको थियो। उद्धार टोली पुग्दा उनी नग्न अवस्थामा थिए। खोरमा नग्न अवस्थामा बस्दै आएको उनी १० वर्ष भयो।
अधिकारी परिवार ओखलढुङ्गाबाट बसाइँ सरेर आएदेखि उनी खोरमा थिए। उनमा सानैदेखि मानसिक स्वास्थ्य समस्या भएपछि थुनेर राख्दै आएको तर्कबहादुरका भाइ चेवनले बताए। लुगा लगाइदिने वित्तिकै च्यातिहाल्ने गरेकाले नग्नै खोरमा राखेको उनको तर्क थियोए। चेवनले दाइको हेरचाह गर्दै आएका छन्।
स्थानीय पवित्रा थापाले १० वर्षदेखि तर्कबहादुर खोरमा रहेको बताइन्। परिवारले खोरमै खाना लगिदिने गरेको उनको भनाइ छ।
दाइको संरक्षण गर्दा श्रीमतीले छाडिन्
तर्कबहादुरलाई भाइ चेवनले संरक्षण गर्न थालेपछि उनकी श्रीमतिले उनलाई छोडिन्। मानसिक स्वास्थ्य समस्या भएका दाइलाई आफूले पाल्ने भनेपछि श्रीमतिले साथ छोडेको चेवनले बताए। चेवनका ३ सन्तान छन्। उनी छोराछोरी र दाइलाई संरक्षण गर्दै आएका छन्।
सभासदका आँँसु थामिएनन्
कला घले उदयपुरकी प्रत्यक्ष सांसद हुन्। १० वर्षदेखि खोरमा रहेका व्यक्ति कटारी १ का हुन्। सांसद घलेको घर पनि वडा नंं १ मै छ। तर, उनलाई तर्कबहादुर १० वर्षदेखि खोरमा नग्न अवस्थामा रहेको थाहा रहेनछ। उनलाई उद्धार गर्दै गर्दा उनी भक्कानिएकी थिइन्। नारकीय जीवन विताइरहेका व्यक्तिको अवस्था देखेर उनको आँसु थामिएन््।
कटारीबाट १० जनाको उद्धार
प्रदेश १ सरकारले शनिबार उदयपुरको कटारीबाट तर्कबहादुर सहित १० जनाको उद्धार गरेको छ। कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरुको उद्धार गरेको हो। उद्धार गरिएकामा सडक आश्रित गर्भवति बालिकासहित ४ महिला र ६ पुरुष छन्।
उनीहरुलाई सडक र घर–घरमा गएर सामाजिक विकास मन्त्री घिमिरे सहितको टोलीले उद्धार गरेको हो।
उद्धार गरिएकाको पृष्ठभूमि कस्तो
कटारीमा करिव ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ। नगर उपप्रमुख भीमकुमारी राउतले स्वास्थ्य समस्या भएका व्यक्तिका परिवारलाई नगरपालिकामा भेला गरी समस्या समाधानको पहल शुरु गरेको बताइन्।
प्रदेश सरकारको अभियान अन्तर्गत उद्धार शुरु गरेको उनले बताइन्। शनिबार उद्धार गरिएकाहरु ५ सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका, परिवारका सदस्य देख्ने वित्तिकै आक्रमण गर्न थालेपछि साङ्लोले बाँधिएका, पढ्दा पढ्दै स्कुल छोडेका युवाहरु छन्।
प्रदेश १ का सवै स्थानीय तहमा उद्धार गरिनेप्रदेश १ सरकारले सडक आश्रित र सहयोगापेक्षीहरु सवैको उद्धार गर्ने सामाजिक विकास मन्त्री घिमिरेले बताए।
कटारीका सडक र घर–घरमा पुगेर उद्धार गर्दै मन्त्री घिमिरेले प्रदेश १ का १३७ वटै स्थानीय तहबाट मानसिक स्वास्थ्य समस्या भएका, सडकमा जीवन विताइरहेकाहरुको उद्धार गरिने बताए। प्रदेश १ का सडकमा आश्रित र सहयोगापेक्षीको उद्धार गरी सडक मानवमुक्त बनाइने मन्त्री घिमिरेको भनाइ छ।
उद्धार गरिएकाहरु मानव सेवा आश्रममा
उद्धार गरिएका व्यक्तिहरुलाई मानव सेवा आश्रम विराटनगरमा राख्ने गरिएको छ। सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा मानव सेवा आश्रमले सडकआश्रित र सहयोगापेक्षीहरुको उद्धार गर्दै आएको छ।
उद्धार गरिएकाहरुलाई पारिवारिक वातावरणमा राख्ने गरिएको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले बताए। उनका अनुसार उद्धार गरिएकाहरुको स्वास्थ्य परीक्षण, औषधी सेवन र व्यायामका कामहरु आश्रमबाट गरिने छ।
मानव सेवा आश्रमले अहिले सम्म प्रदेश १ मा १ सय ८ जनाको उद्धार गरिसकेको छ। उद्धार गरिएका मध्ये अहिले ६५ जना आश्रममा छन्। अन्यलाई उपचारपछि परिवारको जिम्मा लगाइएको छ।
आगामी २०८२ साल भित्रमा नेपाललाई सडक मानवमुक्त बनाउने अभियान रहेको केसीले बताए। प्रदेश १ मा सडक आश्रितहरुलाई आगामी एक वर्ष भित्रमा उद्धार गरिसकिने उनको भनाइ छ।