शनिबार, कात्तिक २९, २०८२

लकडाउनले रोकेन गीतसंगीत उत्पादन

कोरोना कहर, नेपाली भूमिमाथि भारतीय अतिक्रमण, पश्चिम रुकुम घटना गीतसंगीतका विषय बने।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

कोरोना जोखिमका कारण अन्य व्यवसाय ठप्प रहे पनि गीतसंगीत सिर्जना र उत्पादनमा भने खासै असर परेन।

National life

यस अविधमा कोरोना कहर, नेपाली भूमिमाथि भारतीय अतिक्रमण, पश्चिम रुकुम घटना गीतसंगीतका विषय बनेका छन्। यस्तै मायाप्रेम र सामाजिक विकृतिमाथिका व्यंग्यमा आधारित गीत सिर्जना गर्ने क्रम रोकिएन।

रेकर्डिङ स्टुडियोले नियमित काम पाएपछि गीतसंगीत उत्पादनमा खासै असर नपरेको सम्बद्ध व्यवसायी बताउँछन्।

बुद्धनगरस्थित प्रिज्म स्टुडियोमा पछिल्लो डेढ महिनामा ४५ वटा गीत रेकर्डिङ भएका छन्।

‘असार १ गतेसम्म त घरमै बसेर काम गरेका थियौं। त्यसपछि स्टुडियोमा कामको चापाचाप छ’, प्रिज्मका सञ्चालक बिबी अनुरागीले भने, ‘गीत रचना गर्ने क्रम रोकिएन। स्टुडियोले पनि काम पाइरहेको छ।’

Laxmi sunrise bank
kumari

लकडाउनको सुरुका दिनमा घरमै बसेर कम्पोज, एरेन्ज र मिक्सिङको काम गरेको अनुरागीले बताए।

उनले लकडाउन अवधिमै १० वटाजति गीत रचना गरे। शासन अनुशासन, गोब्याक इन्डिया, रुकुम घटना, करौंती जस्ता गीत उनले बजारमा ल्याएका छन्।

पछिल्लो समय चर्चामा रहेका नरेश खातीको माया मारेर, सरोज ओलीको ए है माया, दुर्गेश थापाको बीच्च बीचमा बेसार–३, खेम सेन्चुरीको मायालु तिमी कता छौ, सोचेझैं रहेन जिन्दगी जस्ता गीत प्रिज्ममै रेकर्डिङ भएका हुन्।

गायक खेम सेन्चुरीले चैतपछि १४ वटा गीत बजारमा ल्याए।

गायिका शान्तिश्री परियारले जेठमा १० वटा र असारमा २४ वटा गीतमा आवाज दिइन्। उनी अचेल पनि रेकडिर्ङमै व्यस्त छिन्।

लकडाउनको सुरुमा कोरोनाको कहर तथा सीमा मिचिएको विषयका गीत बजारमा आए भने पछिल्लो समय तीजका गीत बढी छन्। गाईजात्रे गीत पनि छ्यापछ्याप्ती निस्किएका छन्।

पुतलीसडकको मालाश्री रेकर्डिङ स्टुडियोका सञ्चालक विनोद बाजुरेलीले लकडाउनका बेला पनि संन्तोषजनक काम भएको बताए।

‘यो गीतसंगीतका लागि निकै उर्वर सिजन हो’, बाजुरेलीले भने, ‘कोरोनाको कहरमा पनि अरु व्यवसाय जस्तो पूर्ण रुपमा बन्द नभएर काम भइरहेको छ।’

राग स्टुडियोका सञ्चालक आशिष अविरलले लकडाउन खुकुलो भएदेखि काम सुरु भएको बताए। उनले पनि पहिलेको भन्दा ५० प्रतिशत बढी काम गरिरहेका छन्।

सर्जकले गीत सिर्जना गरेपछि रेकर्डिङको काम स्वाभाविक बढेको व्यवसायी बताउँछन्।

प्रकाशित: Aug 01, 2020| 09:55 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्