काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रमाण नष्ट र यातना मुद्दा खेपेका तत्कालीन एसपी डिल्लीराज विष्टले निर्मला पन्तले न्याय पाउनुपर्ने प्रतिक्रिया दिएका छन्।
अदालतबाट आफूसहित ८ जना प्रहरीविरुद्धको मुद्दामा सफाइ पाएपछि नेपाल समयसँग प्रतिक्रिया दिँदै विष्टले आफूहरुले अदालतबाट न्याय पाए पनि निर्मला पन्तले न्याय पाउन बाँकी रहेको बताए।
‘हामीले अदालतबाट न्याय पाएका छौं,’ उनले भने, ‘अब निर्मला पन्तले पनि न्याय पाउनुपर्छ।’
उनले निर्मला पन्तका बलात्कारी र हत्यारा कानुनी कठघरामा आउनुपर्ने धारणा राखे।
अदालतले तपाईंहरुलाई सफाइ दिएको छ, अब के गर्नुहुन्छ? भन्ने प्रश्नमा भने उनले अहिले यसबारे प्रतिक्रिया नदिने बताए।
गृह मन्त्रालयले गठन गरेको हरिप्रसाद मैनालीको संयोजकत्वको छानबिन समितिको सिफारिसका आधारमा विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सरकारले भविष्यमा सरकारी सेवाबाट अयोग्य नठहरिने गरेर बर्खास्त गरेको थियो।
सफाइ पाएका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टले पनि अदालतको फैसलाले न्याय मिलेको प्रतिक्रिया दिए।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बिहीबार तत्कालीन एसपी विष्टसहितका आठजनालाई सफाइ दिएको हो।
अदालतका स्रेस्तेदार यदुराज शर्माका अनुसार फैसलामा प्रहरीहरूले आरोपित व्यक्तिलाई यातना दिएको नदेखिएको, उनीहरूको शरीरमा घाउचोट नदेखिएको र स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि उनीहरूमाथि घाउचोट लागेको नदेखिएको उल्लेख छ।
प्रमाण नष्ट गरेको भन्दै लगाइएको मुद्दामा पनि कसुर पुष्टि भएको नदेखिएको फैसलामा भनिएको छ। फैसलाको पूर्णपाठ भने आउन बाँकी छ।
एसपी विष्ट, केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।
निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट र प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीविरुद्ध उजुरी दिएका थिए।
तत्कालीन जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको इजलासले मुद्दा लागेका आठैजनालाई धरौटीमा छाड्ने आदेश दिएका थिए।
तत्कालीन एसपी विष्ट र तत्कालीन प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरेर सेवाबाट हटाइएको हो भने अन्य ६ जनालाई निलम्बन गरिएको हो।
याे पनि पढ्नुस् :