काठमाडौं- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीसहित दुई जना चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयबाट खटिएको टोलीले विमानस्थलका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
जग्गाको मुआब्जा दिलाउने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस मागेको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
भैरहवाको सेन्चुरी कमर्सियल बैंकमा लेनदेन भइरहेको अवस्थामा उनीहरु पक्राउ परेको भुसालले बताए। पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।