बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस जिल्ला सभापतिहरूले भने– महाधिवेशनको आडैमा गठन भएका विभाग र समिति खारेज हुनुपर्छ

कांग्रेस जिल्ला सभापतिहरूले भने– महाधिवेशनको आडैमा गठन भएका विभाग र समिति खारेज हुनुपर्छ

नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि गठन गरिएका विभाग र समिति खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

काठमाडौं– नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि गठन गरिएका विभाग र समिति खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ।

सोमबार साँझ बसेको बैठकले महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा बाहेक विभाग वा समिति गठन गर्ने कार्य निर्वाचन आचारसंहिता, राजनीतिक नैतिकताविरुद्ध हुने भन्दै खारेज गर्नुपर्ने निर्णय गरेको हो।

बैठकले बागी उम्मेदवार र तिनको प्रस्तावक–समर्थक स्वतः पार्टीबाट बर्खास्त हुने व्यवस्था भएको बताउँदै महाधिवेशनको मुखमा आएर निष्ठावान नेता र कार्यकर्तामाथि छानीछानी कारबाही गर्नु गलत भएको निष्कर्ष निकालेको छ। यस्ता गतिविधिले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेकाले तत्काल रोक्न माग पनि गरेको छ।

बैठकले गरेका निर्णयः

१.पार्टीको आगामी १४औं महाधिवेशनको सफलता र प्रभावकारितालाई सुनिश्चित गर्नेगरी सबै जिल्लाका जनता र स्थानीय संगठनको भुँइ तहसम्म निरन्तर उठबसमा रहेका सबै नेता एवं साथीहरूसँग पार्टीको सैद्धान्तिक, बैचारिक, सांगठनिक र अग्रगामी नीति निर्माणको सवालमा अर्थपूर्ण संवादलाई तीव्रताका साथ अघि बढाउने।

२. कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा बाहेक विभाग वा समिति गठन गर्ने कार्य निर्वाचन आचारसंहिता, राजनीतिक नैतिकता र हाम्रै ऐतिहासिक परम्पराविरुद्ध भएकाले यस्ता लोक हसाउने, भद्दामजाक कर्म तत्काल रोक्नुपर्ने र यसबीच बनाइएका सबै विभाग र समिति खारेज गर्नुपर्ने।

३. पार्टी जिल्ला सभापतिहरूको हेटौंडा भेला, हलेसी भेला, ककनी भेला र पार्टीको आठौं महासमिति बैठकमा पार्टीको भुँइ तहबाट उठेका आवाजहरुलाई वाणी प्रदान गर्दै पार्टीको समग्र शुद्धिकरण र सुदृढीकरणका सन्दर्भमा उठान गरिएका विषयलाई आगामी १४औं महाधिवेशनमा विधिवत प्रस्तावका रुपमा अघि बढाउने।

४. निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक–समर्थक बस्ने सबैजना विधानत स्वतः पार्टीबाट बर्खास्त हुने प्रष्ट व्यवस्था हुँदाहुँदै पनि महाधिवेशनको प्रक्रिया आरम्भ भइसकेपछि यतिखेर आएर एक वा अर्को बहानामा निष्ठावान नेता र कार्यकर्तामाथि छानीछानी कारबाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेकाले यस्ता गतिविधि तत्काल रोकिनुपर्ने।

५.स्थानीय तह पार्टी समायोजन सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सिन्धुपाल्चोक लगायतका जिल्लामा खेलेको भूमिकामा नीतिभन्दा नेता प्रभावको गन्ध आएकाले निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गर्ने।

६. १३औं महाधिवेशनमा सम्पूर्ण विधिप्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका साथीहरूको क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउनु पर्ने। अत्यावश्यक थप क्रियाशील सदस्यता पार्टी प्रणालीअनुसार पठाउने र कुनै बहानामा अन्य बाटोबाट क्रियाशील सदस्यता पठाएर निर्वाचनलाई प्रभावित गर्ने कार्य हुन नहुने कुरालाई सुनिश्चित गर्ने।

७. पार्टी–पार्टीबीचको एकीकरण, पार्टी समूह वा व्यक्तिको नेपाली कांग्रेस प्रवेश कार्यलाई निष्ठाबान नेता र कार्यकर्ताको तेजोवध गर्ने, क्षणिक गुटगत फाइदाका लागि पार्टीलाई दीर्घकालिन क्षति पु¥याउने वा अन्य अभीष्ट पूरा गर्ने अपारदर्शी कदमको रुपमा अघि बढाउने काम नहोस्। एक/दुई वा केही नेताको प्रवेशको आडमा सयौं संख्यामा क्रियाशील सदस्यता पठाएर अनियमितता गर्ने काम नहोस् भन्नेतर्फ नेतृत्वलाई सचेत गराउने।

८. जनताको आवाज बोल्ने र बोक्ने अभिप्रायले छाया सरकारको अभ्यास समेतमा उत्रिसकेको प्रमुख प्रतिपक्षी दल सौदाबाजी शक्तिको रुपमा देखिनु आत्मघाती हुने भएकोले यस्ता मनसाय वा भ्रमलाई चिर्दै सशक्त जनपक्षीय प्रतिपक्षको भूमिका निर्वाह गर्ने।

९. कम्युनिष्ट अधिनायकवाद, भ्रष्टाचार तथा कोरोना नियन्त्रण र व्यवस्थापनमा सरकारी अकर्मण्यता विरुद्ध चरणबद्ध संघर्षमा उत्रिन अत्यावश्यक भइसकेकोले त्यसप्रकारको निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रह गर्ने।

१०. पार्टीमा लोकतान्त्रिक समाजवादको सामयिक परिभाषा, व्याख्या, योजना, नीति र कार्यक्रम निर्माणमा नेपाली कांग्रेसका सदस्य र शुभेच्छुक बुद्धिजिवीहरु बीच वैचारिक बहस, संवादलाई तीव्रता दिने र वर्तमान भ्रष्टाचार–उत्प्रेरक निर्वाचन प्रणालीमा व्यापक सुधार गरी पैसारपाखुराको प्रभावमुक्त प्रतिनिधित्व प्रणाली सुनिश्चित गर्न क्रियाशील रहने।

११. राष्ट्रियताको सवालमा नेपाली कांग्रेसको ऐतिहासिक अडान र प्रतिबद्धता, पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अनुरुप सीमा लगायतका यावत समस्या वार्ताको माध्यमबाट देश र जनताको हीतमा समाधान गर्न निरन्तर दबाब दिने।

 

प्रकाशित: Jul 28, 2020| 14:16 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।