काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ।
पूर्व निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो। साउन ६ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितमा केहीबेर बसेको बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको थियो।
नेकपा पार्टी कार्यालय सचिव ईश्वरी रिजालले स्थायी कमिटी बैठकको पूर्व निर्धारित कार्यतालिका नै रहेको जानकारी दिए।
असार १० गतेबाट शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि पटक–पटक अवरुद्ध हुँदै आइरहेको छ। दुईअध्यक्षबीच अझै सहमति भइनसकेकाले आजपनि बैठक बस्छ की बस्दैन भन्ने अन्योल भने कायमै छ।
तर, हिजो खुमलटारमा दाहाल–नेपाल समूहका सचिवालय सदस्य र स्थायी कमिटी सदस्यहरुले भने कुनैपनि हालतमा अब स्थायी कमिटीको बैठक स्थगित गर्न नहुने र बहुमतकै निर्णयका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो।
आज स्थायी कमिटीको बैठकअघि सहमतिको प्रयासका लागि अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले छलफल गर्ने बताइएको छ।
खुमलटार स्रोतका अनुसार स्थायी कमिटीको बैठक अघि दुवैजनाबीच बालुवाटारमा छलफल हुने भएको छ। दुईजनाबीचको छलफलपछि स्थायी कमिटी बस्ने नबस्ने तय हुनेछ।