विराटनगर– कोरोना संक्रमण बढेको भन्दै मोरङका २ वटा स्थानीय तहले मंगलबारदेखि सार्वजनिक सेवा बन्द गरेका छन् ।
‘ट्राभल हिस्ट्री’ नदेखिएकी एक २७ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कटहरी गाउँपालिकाले सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए । गाउँपालिका र स्वास्थ्य सेवाबाट प्रदान हुने सेवाहरु अर्को सूचना नहुन्जेल सम्मका लागि बन्द गरिएको अध्यक्ष कामतले बताए ।
बूढीगंगा गाउँपालिकाले पनि कोरोना संक्रमणको कारण देखाएर गाउँपालिकाको सार्वजनिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले बताए ।
गाउँपालिकाको सिमाना जोडिएको विराटनगरमा संक्रमण बढेको भन्दै उच्च सर्तकता अपनाउन गाउँपालिकाबासीमा आह्वान गरिएको अध्यक्ष माझीले बताए । गाउँपालिकाले दैनिक तथा साप्ताहिक हाटबजारलाई पनि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरुबल्लव बरालले बताए ।
विराटनगर महानगरपालिकाले सोमबारदेखि महानगरले प्रदान गर्ने अत्यावश्यक वाहेकका सेवा बन्द गरेको छ ।