काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले गरेको काम नदेख्नेहरुलाई मोतियाबिन्दु लागेको टिप्पणी गरेका छन्।
सरकारले कोरोना भाइरसको महामारीविरुद्ध गरिरहेका कामहरु नदेख्नेका आँखामा मोतियाबिन्दु लागेको मन्त्री ढकालको टिप्पणी छ।
सोमबार वीर अस्पतालको वार्षिकोत्वस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले भने, ‘हामीले निर्वाह गरेको भूमिका विदेशीले देखेका छन्। देश र विदेशमा बसेका नेपालीले देखिसक्दैनन्। मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको छ।’
सरकारको बचाउ गर्दै मन्त्री ढकालले नेपालीको संस्कारै यस्तो रहेको जिकिर गरे। नेपालको संस्कार र संस्कृति त राम्रै रहेको बताउँदै मन्त्री ढकालले सकारात्मक कामको प्रशंसा भने नगर्ने बताए।
कार्यक्रममा ढकालले कोरोना भाइरस संक्रमणका विरुद्ध सरकारले निकै खटेर काम गरेको दाबी गरे। उनले कहीँकतै संक्रमितहरु भेटिन्छन् कि भनेर टर्च बालेर सरकारले खोजिरहेको भन्दै विश्वका शक्ति सम्पन्न राष्ट्रहरुको भन्दा राम्रोसँग नेपाल सरकारले कोरोनाविरुद्धको काम गरिरहेको जिकिर गरे।
ढकालले नेपालमा आलोचना गर्नेहरुले केही न केही निहुँ खोजेर सरकारको कामको नजरअन्दाज गरिरहेको गुनासो गरे।
उनले कोभिड १९ बाट विश्वभर मृत्यु हुनेहरुको दर बढी रहेको तर नेपालले शून्य दशमलव २ प्रतिशत भन्दा कममा रोक्न सक्नु सबैभन्दा सकारात्मक पक्ष भएको बताए। नेपाल कोरोना रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एशिया मै राम्रो रहेको मन्त्री ढकालको भनाइ छ।