पोखरा– नेपालमा पहिलोपटक हुन लागेको राष्ट्रिय फुटसल लिग प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ। प्रतियोगिता असोज २ गते शनिबारदेखि २२ गतेसम्म चल्नेछ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कर्भड हलमा यसअघि नै प्रतियोगिता आयोजना गर्ने भनिए पनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो। एन्फाले लिगका लागि छनोट चरणका खेलहरु खेलाडी विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको हो।
एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलहरुको आयोजना गरेको थियो। जसमा गण्डकी प्रदेशको समेत २ टिमको सहभागिता छ। प्रतियोगितामा ७ प्रदेशका १० टिम सहभागी हुनेछन्। राउन्डरोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ। असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन् भने २२ गते फाइनल हुने एन्फाका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिए।
‘एन्फाको आयोजनामा पोखरामा हुने नेपालकै पहिलो फुटसल लिग हो,’ उनले भने, ‘लिगको तयारी पूरा भइसकेको छ।’
राष्ट्रिय प्रतियोगिता काठमाडौंमा मात्र केन्द्रित हुने गरे पनि पहिलो पटक राजधानीबाहिर ठूलो प्रतियोगिताका रुपमा फुटसलको आयोजना हुन लागेको हो।
वैशाखमा आयोजना गर्ने गरी तयारी गरे पनि कोभिडका कारण छनोट चरणका खेल चैत १ देखि सुरु भएर वैशाखसम्म आयोजना गरिएको थियो। छनोट खेल पनि गण्डकीमै गरिएको हो। राष्ट्रिय प्रतियोगिता काठमाडौंमा मात्र केन्द्रित हुने गरे पनि पहिलो पटक राजधानीबाहिर ठूलो प्रतियोगिताका रुपमा फुटसलको आयोजना हुन लागेको हो।
सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीको चरक मेमोरियल अस्पतालमा कोरोना परीक्षण गराएर मात्र लिगमा सहभागी गराउने उनले बताए।
संघले प्रत्येक टिमलाई तयारी खर्चबापत १/१ लाख रुपैयाँ प्रदान गरेको थियो। चैत र वैशाखमा भएको छनोट चरणमा देशभरका ५२ टिमको सहभागिता थियो। लिगमा सबैभन्दा बढी बागमती प्रदेशबाट चार टिमको सहभागिता छ। बागमतीबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काई गोल्स फुटसल क्लब छन्।
लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। पाँचपाँच जना खेलिने खेलमा खेलाडी बारम्बार परिर्वतन गर्न सकिने व्यवस्था छ।