इटालियन सिरी ए मा एसी मिलानले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा मिलानले पर्मामाथी ३–१ गोलको जित निकालेको हो।
घरेलु मैदानमा मिलानको जितका लागि फ्राङ्क केसिए, एलेसिओ रोमाग्नोली र हकन चल्हानोग्लुले एक एक गोल गरे । पर्माका लागि वस्मिन कुर्टिच एक गोल गरे।
खेलमा सुरुवाती अग्रता भने पाहुना टोली पर्माले लिएको थियो। खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा कुर्टिचले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा भने पर्मा सम्हालिन सकेन ।
५५ औं मिनेटमा केसिएले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको चार मिनेट नबित्दै रोमाग्नोलीले गोल गर्दै घरेलु टोलीलाई २–१ गोलको अग्रता दिलाए। ७७ औं मिनेटमा हकन चल्हानोग्लुले गोल गर्दै मिलानलाई ३–१ को जित दिलाए।
यस जितसँगै मिलानले ३४ खेलबाट ५७ अंक जोडेको छ। पराजित पर्मा भने ४० अंक जोड्दै १२ औं स्थानमा छ।
बुधबार राति नै भएको अर्को खेलमा बोलोग्ना र नेपोलीले बराबरी खेले। बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा नेपोलीले १–१ गोलको बराबरी खेलेका हुन्।