एजेन्सी – जापानको राजधानी टोक्योकी गभर्नर युरिको कोइकेले आगामी ओलम्पिक सन् २०२१ को जुलाई–अगस्तमै आयोजना गरिने बताएकी छन्।
उनले टोकियो ओलम्पिक कोरोना महामारी सकिएको संकेतसमेत हुने दाबी गरेकी छन्।
यसै वर्षको जुलाई–अगस्तमा हुने भनिएको ओलम्पिक खेलकुद कोरोना महामारीका कारण अर्को वर्षलाई सारिएको हो । यद्यपि, ओलम्पिक आयोजनाको तयारी अहिल्यैदेखि सुरु गर्नुपर्ने र कोरोनाको महामारी कहिले सकिन्छ थाहा नहुँदा आगामी वर्ष पनि ओलम्पिक खेलकुद आयोजना गर्न नसकिने भन्दै उनको विरोध भइरहेको छ।
जापानमा कोरोना संक्रमितको संख्या अहिलेसम्म तुलनात्मक रुपमा कम नै छ। जापानमा संक्रमितको संंख्या करिब २१ हजार मात्र छ। तर, सरकारले ओलम्पिक आयोजना गरेर राजधानी टोक्योलाई कोरोनाको ‘हटस्पट’ बनाउन खोजेको स्थानीय वासिन्दाको आरोप छ।
यसैबीच गभर्नर कोइकेले भने ओलम्पिक आयोजनाका लागि जनताको व्यापक समर्थन लिने पनि बताएकी छन्।
‘विश्वभरका मानिस एकै ठाउँमा आएर यो अप्ठ्यारो अवस्थालाई जित्ने कुरोका संकेतका रुपमा र मानिसलाई शक्ति प्रदान गर्ने कुराको रुपमा म ओलम्पिक गराउन चाहान्छु,’ उन राइटर्ससँग अनलाइन अन्तर्वार्तामा भनिन्।
‘ म ओलम्पिकमा विश्वभरका मानिसलाई अहिलेको अप्ठ्यारो परिस्थितिबाट बाहिर निस्किएको संकेतका रुपमा स्वागत गर्न चाहन्छु,’ समाचार संस्था रोयटर्ससँगको कुराकानीमा कोइकेले भनेकी छन्।