फ्रान्समा मार्च १२ बाट ठप्प फुटबल प्रतियोगिता हिजो रातिबाट दर्शकसहित मैदान फर्किएको छ। यसअघि फ्रान्सका खेलकुदमन्त्री रोजाना मरासिनेउले सेप्टेम्बरसम्म खेलकुद गतिविधि नखुल्ने बताएपछि अप्रिल ३० बाट शीर्ष दुई डिभिजनका लिगसमेत रद्द गरिएका थिए।
तर, जुलाईबाटै फुटबल प्रतियोगिता मैदान फर्किए। यसअघि नै जर्मन, इंग्ल्यान्ड, स्पेन र इटालीमा फुटबल सुरु भए पनि फ्रान्समा हुन सकेको थिएन।
लिग रद्द भएपछिको खेलमा लिग वान च्याम्पियन पीएसजीले फ्रान्सेली फुटबलमा सानदार कमब्याक गरेको छ। पाँच हजार दर्शक उपस्थित रंगशालामा ला हाभ्रेविरुद्ध ९ गोल गर्यो।
सो खेल हेर्न खेलकुदमन्त्री रोजाना मरासिनेउ पनि उपस्थित थिए। ५ हजार दर्शकमाझ उनले पनि फुटबलको मजा लिए। मार्च १२ पछि पहिलो पटक सुरु भएको खेलमा पीएसजीले ९–० गोलअन्तरले ला हाभ्रेलाई हरायो, जसमा नेयमार, माउरो इकाडी, पाब्लो सराबियाले समान दुई गोल गरे भने एक/एक गोल गर्नेमा केलियन एम्बाप्पे, एड्रिसा गुए र अर्नाउन कालिमुएइन्डो रहे।
जारी सिजनमा पीएसजीले च्याम्पियन्स लिग अन्तर्गतका क्वाटरफाइनल खेल्न बाँकी छ। उसले महामारीबीच बन्द रंगशालाको अन्तिम १६ को खेलमा बोरुसिया डर्टमुन्डलाई ३–२ को गोलअन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ। उसले क्वाटरफाइनलमा एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, पीएसजीले फ्रेन्च लिग र लिग कपको फाइनल खेल्न पनि बाँकी छ।

एजेन्सी