‘यो दाजुको मिर्मिरे आँखा’ बोलको लोकगीतले अहिले राम्रो चर्चा कमाइरहेको छ। विशेषगरी टिकटकमा हिट भएको छ यो गीत। करिब दुई साताअघि युट्युबमा अपलोड भएको गीत शनिबार बिहानसम्ममा ४७ लाख ४७ हजारभन्दा बढीले हेरिसकेका छन्।
प्रविण गुरुङ र बिमाकुमारी दुराले वर्षौंअघि गाएको लोकगीत भने होइन यो, चेतन गोतामे र निरु श्रीस मगरले गाएको सो गीतको कभर भर्सन हो। ७ वर्षअघि युट्युबमा अपलोड भएको ओरिजिनल गीत भने १० लाख ७२ हजारले हेरेका छन्। अर्थात् ओरिजिनलभन्दा बढी हिट भएको छ कभर भर्सन।
पुरानो गीतलाई नयाँ वाद्ययन्त्र र परिस्कृत शैलीका साथ पुनः रेकर्ड गरेर कभर सङको रुपमा श्रोता दर्शकमाझ ल्याउने चलन बढ्दो छ केही वर्षयता। कभर सङको प्रचलन बढेपछि नयाँ पुस्ताले पुराना गीतहरू खोजीखोजी सुन्न र गाउन थालेका छन्।
मानिसहरुले बिर्सिन थलिसकेका पुराना गीतको कभर भर्सन युट्युबमा थुप्रै सुन्न–देख्न पाइन्छ। थुप्रै गायक गायिकाले आफ्नो संगीत यात्रा कभर सङबाटै सुरु गरेको उदाहरण पनि छन्।
एलिना चौहान, दिक्षा जे थापा, अक्षता अधिकारी, त्रिशाला गुरुङ, त्रिशना गुरुङ, भीजे, प्रीति, जोभन भुजू, चिन्टु, स्वप्न सुमन आदि कभर सङबाटै युवा पुस्तामा परिचित भएका छन्। कलाकार प्रियंका कार्कीले गाएको ‘तिमीले त होइन तिम्रा भाखाहरूले’ बोलको गीतले पनि राम्रै चर्चा बटुलेको छ।
लोकप्रिय गायक धिरज राईले आफ्नै गीतको कभर भर्सन बनाएका छन्। धिरजको ‘तिम्रा नयन तिम्रा अधर’ ओरिजिनलभन्दा कभर बढी रुचाएका छन् स्रोता–दर्शकले।
युट्युब ट्रेन्डिङमा आइरहेका हुन्छन् बेलाबेलामा कभर सङ। चर्चित गीतहरूको मेल, फिमेलदेखि किड भर्सनसम्मका कभर सङ पाइन्छ ।
धेरैले सोखको रुपमा कभर सङ गाउने गरेको पाइए पनि व्यावसायिक रूपमै पनि यसको विकास भइरहेको छ। उच्च गुणस्तरको साउन्ड र भिडियो बनाएर कभर सङ बनाउने प्रचलन बढेको छ। कतिपय नयाँ कलाकार एवं पुराना कलाकारले पनि कभर सङका लागि प्रशस्त खर्च गर्न थालेका छन्।
केही वर्षयता धेरैवटा गीतहरुको मिक्सचर अर्थात् म्यासुप पनि लोकप्रिय बनिरहेको छ। ४ वर्षअघि युट्युबमा अपलोड भएको दिक्षा थापाको ‘के यो माया हो’ नामक म्यासुप १४ लाखले हेरेका छन्। २१ हजारले लाइक गरेका छन्। यसमा दिक्षाको आफ्नो कुनै गीत छैन। सबै अरुकै कभर भर्सन हो ।
त्रिशला गुरुङको ‘सपना भई आँखामा आउने’ को कभर भर्सन पनि निकै रुचाइएको छ। पेशाले डाक्टर रहेकी गुरुङको दुई वर्षअघि अपलोड भएको भिडियो ६५ लाखभन्दा बढीले हेरेका छन्।
श्याम कार्कीको गीत ‘तिम्रो मायाले बाँधेर राख’ को कभर भर्सन गाएर चर्चित भएकी एलिना चौहान आफ्नो प्रतिभा देखाउने एउटा तरिका कभर सङ भएको बताउँछिन्।
‘कभर सङ भनेको आफूसँग गीत बनाउने स्रोतको कमी छ भने ट्यालेन्ट प्रस्तुत गर्ने माध्यम हो। हामीसँग युट्युब छ। अहिले त टिकटक पनि छ। घरमै बसेर विश्व्यापी स्टेज पाएका छौं। आफ्नो ट्यालेन्ट देखाउन पाएका छौं,’ एलिना भन्छिन्।
कभर सङबाटै गायन करिअर सुरु गरेकी एलिना गायनको हिसाबमा नयाँ गीत गाउनु र कभर गाउनुमा खासै फरक भने नहुने अनुभव सुनाउँछिन्। भन्छिन्, ‘तर जसरी पनि गीतलाई न्याय गर्नुपर्छ।’ रहरको रुपमा कभर सङ गाउनु राम्रै भए पनि गीतसंगीतमै करिअर बनाउँछु भन्नेले नयाँ गीत नै गाउनुपर्ने सुझाव उनको छ।
कुटुमा कुटु, सुर्के थैली, चिरबिर चाँचरी, पूर्वपश्चिम रेल जस्ता मौलिक गीतका सर्जक राजनराज सिवाकोटी कभर सङको बढ्दो ट्रेन्डलाई अन्यथा मान्दैनन्। तर, कभरले ओरिजिनल भर्सनलाई ओझेलमा पार्न सक्ने चिन्ता व्यक्त गर्छन्।
भन्छन्, ‘कभरको एउटा नराम्रो पक्षचाहिँ के छ भने यदि कसैले कभर सङ सुन्यो भने त्यो गीत उसैले गाएको हो कि भन्न भ्रम पर्नसक्छ। यसले समाजको कला लुकाउन सक्छ।’