बिहीबार, वैशाख २०, २०८१

‘टिनएज’ प्रेम सम्झाउने यस्तो गीत

निलो जामा, निलो कमिज, रातो रिबनले दुई चुल्ठी बाटेका ‘टिन एज’ केटीहरु। हातमा किताब बोकेर त्यही चौतरो छेउबाटै स्कुल जाँदैछन्
 |  शनिबार, असोज २, २०७८

राज सरगम

राज सरगम

शनिबार, असोज २, २०७८

काठमाडौं- ६–७ वर्षकी नानी। चौतारामा एकखुट्टे खेलिरहेकी छिन्। त्यहीं पुग्छ, एक युवक (महेन्द्र गौतम) कालो झोलासहित। नानीलाई बोलाएर झोलाबाट चकलेट निकालेर दिन्छ। खुसी भएकी नानीलाई एउटा कागजको टुक्रा दिँदै कसैलाई दिने इसारा गर्छ। 

triton college

नीलो जामा, नीलो कमिज, रातो रिबनले दुई चुल्ठी बाटेका ‘टिन एज’ केटीहरु। हातमा किताब बोकेर त्यही चौतारो छेउबाटै स्कुल जाँदैछन्। तीन केटीमध्ये एउटी (गरिमा शर्मा)ले चकलेट पाएकी बहिनीलाई बोलाउँछिन्। नानी खुसी हुँदै चौताराबाट झर्छिन्। दिदीको हातमा कागजको टुक्रा राख्दै महेन्द्रतिर देखाउँछिन्। केटी ‘नर्भस’ हुँदै केटातिर हेर्छिन्। र, हेर्छिन्– कागजको टुक्रो। 

‘मलाई माया गर्न पनि चाहिएको हो र सानु कसको अनुमति?’

यो शब्द नै गीत हो। र, माथि चर्चा गरिएको दृश्य यही गीतको भिडियोमा देखाइएको छ। यो गीतको शब्द-संगीत डा. शिव सुवेदीको हो। सुवेदीले आफ्नै नामको युट्युब च्यानलबाट ल्याएको ‘कस्को अनुमति’ गीत हेर्दा हाइस्कुल पढ्दाको टिनएजको झल्को आउँछ।  

भूकम्पशास्त्रमा पीएचडी गर्न स्विट्जरल्यान्ड पुगेका सुवेदीले ६ महिनाअगाडि पेरिसको सडकमा एक्लै हिँडिरहँदा यो गीत कोरेका थिए। गीत कोर्दा उनले सम्झिएका थिए- आफ्नै गाउँ। र गाउँमा हाइस्कुल पढ्दा मिल्ने साथीहरुको प्रेम–प्रसंग।

corrent noodles
Metro Mart

साठीको दशकअगाडि। स्कुले जीवनमा बाटो कुरेर प्रेम गर्छु भन्‍ने केटा, कुनै न कुनै केटीलाई भेटिएको हुनुपर्छ। मन परेको केटीलाई आफ्ना कुरा राख्‍ने माध्यम खोज्‍ने गरिन्छ। सजिलै व्यक्त गरिएको प्रेममाथि विश्वास पनि त सायदै हुन्छ। सुवेदीले पनि हाइस्कुल पढ्दा यस्तै प्रेम देखेका थिए-

मनलाई सोध मनले के भन्छ, 

मान्छेको त गुनासै रहन्छ,

पर्खिउँ अझै कति ?

‘मलाई माया गर्न पनि चाहिएको हो र सानु कसको अनुमति?’

हरेक विद्यार्थीको हाइस्कुल जीवन पढाइमा ‘फोकस’ हुन्छ। ‘होमवर्क’का कुरा हुन्छन्। स्कुल जाने-आउनेका कुरा हुन्छन्। प्रेमको कुरामा झनै अन्योल हुन्छ। मनलाई सोधीसोधी हैरान भइन्छ। अझ आफैंले मन पराएको मान्छेमाथि झनै अन्यौल हुन्छ। मन परेको कुरा खुलेर भन्‍न पनि नसकिने। हाइस्कुल पढदाखेरीका प्रेम त कसैलाई भन्‍ने आँट पनि हुन्थेन। प्रेम भए पनि खुल्न सकिन्थेन। घरपरिवारसँग प्रेम गर्छु भन्दै अनुमति माग्‍ने हिम्मत पनि हुँदैन। युवती (गरिमा) यस्तै अन्यौलमा परेकी छे - 

मेरो बारे के भन्लान अरुले 

मन देख्दैनन् रुप हेर्नेहरुले 

पर्खिउँ अझै कति ?

युवक त मन पर्छ तर स्वयंलाई विश्वस्त पार्न सकिरहेकी छैने केटीले। किन कि हाइस्कुल पढ्दाको जीवन आफैंमा अपरिपक्क हो। प्रेम त छ। तर प्रेम गरेको थाहा पाए के भन्लान् भन्‍ने चिन्ता पनि छ। कतै यो प्रेमको लहैलहैमा लागेर बाटो बिराइन्छ कि भन्‍ने चिन्ता पनि उस्तै हुन्छ। यस्तैयस्तै सोच्दै केटी प्रेममा खुल्न सकिरहेकी छैन। सुवेदी भन्छन्, ‘हाइस्कुल पढ्दाताकाका केटीको मनोविज्ञान देखाउन कोसिस गरेका छौं।’



युवकलाई भने केटीले खुलेर प्रेम देखाओस् भन्‍ने प्रतिक्षा छ। ऊभित्र आँतुर छ। र युवतीको मन जित्‍न कोशिस गरिरहेको छ। सुवेदी भन्छन्, ‘आफ्नै गाउँको हाइस्कुल पढ्ने केटीको मन जित्‍न पनि खोजिरहेको छ, केटो।’

०००

युवकको घरअगाडि भोगटे टिपिरहेका छन्, केटीहरु। युवकका बाआमा आँगनमा छन्। युवकका बाले तीन केटीमध्ये एकलाई बोलाउँछन्। छोरोलाई मन पराउने केटी नबोलाइ अर्को केटीलाई बोलाएको देखेर केटीको मनमा शंका पस्छ। उसलाई भित्रैभित्र खुल्दुली लाग्छ। मनमा औडाहा हुन्छ। 

केटी चाहन्थी मलाई बोलाइयोस्। तर उल्टो भयो। त्यसो हुँदा केटीलाई इर्श्या हुन्छ। हातको भोगटे फ्याँकेर ऊ भित्ताको आड पारेर सुन्छे। आफूले मन पराएको केटाको परिवारले आफैँलाई माया गरोस भन्‍ने भावना केटीमा देखिन्छ।

‘प्रेममा ‘जेलस’ पनि हुन्छ’ भन्छन् सुवेदी। 

नेपाली समाजमा अझै पनि प्रेम खुलेर गर्न पाइँदैन। मोबाइल र सामाजिक सञ्‍जाल नभएको समयमा प्रेमको बारेमा कुरा गर्नु भनेको लुकीछिपी हो। बाटो कुरेरै हो। या मन परेको मान्छेको आफन्तलाई सोधेर प्रेम देखाइन्थ्यो। जति नै प्रेम गरे पनि केटाको परिवारमा पनि प्रेमलाई पूर्ण सकारात्मक लिँदैन थिए। बाउलाई सोधे प्रेम गर्ने चिजै होइन, भनिदेलान्। या दाजुभाइले प्रेमको पछाडि होइन भविष्यको पछाडि लाग भन्लान्। यस्तै त हो। 

केटीहरुलाई झन गाह्रो। केटाको बारेमा बाआमाले सोधे चिन्ता लाग्‍ने। कतै छुटाइदिन्छन् कि। कतै पिट्छन् कि। गाउँभरि हल्ला फैलिन्छ कि भन्‍ने चिन्ता सधैं रह्यो। उनका शब्दमा यस्तै भाव छन् :

अस्ति तिमलाई सोध्नु भो बाबाले।

अब गाँवै हल्लिन्छ हावाले

पर्खिउँ अझै कति ?

प्रेम त छ। तर परिवार र समाजको पनि डर छ। डरैडरमा पनि प्रेमका खातिर भेट्न लागिन्छ। त्यो भेट जुराउँछ गाउँघरमा हुने रोधीले। 

गण्डकी र धौलागगिरीतिर रोधी बस्‍ने चलन छ। रोधीमा गीत मात्रै गाइँदैनन्। मन परेको मान्छेलाई भेट्ने मौका पनि जुर्थ्यो। गाउँका दिदीबहिनी बुढापाका सबै जुटेर रोधी खेल्छन्। प्राय: केटोकेटी रोधी जाने भनेर घरबाट निस्किन्छन्। बाटोमा भेटेर मायापिरती साटेर रोधीमा देखिएझैं गर्न पालैपालो आउने गरिन्छ नै। गीतैमा मनका कुरा पनि सुनाउँछन्ः

मेरो माया चाहिन्छ कि चाहिँदैन

घाम डुबेसी उज्यालो पाइँदैन।

पर्खिउँ अझै कति ?

गीतमा भएको उज्यालो शब्द अवसर हो। त्यो अवसरलाई सही समयमा सदुपयोग गराउन खोज्छन्, सुवेदी। भन्छन्, ‘जुरेको बेला आँट गरौं भन्दै अनुरोध हो।’

 नफक्रिँदै टिप्दैन मालीले 

फक्रिएसी फूल राख्दैन डालीले 

पर्खिउँ अझै कति ?

फूल युवती हो। नफक्रिएको फूल मालीले पनि टिप्‍न पाउँदैन। र फूलको डाली माइती हुन्। हुर्किएको छोरी माइतीले राखिराख्दैन। छेउमा बसेकी केटीले मन परेको युवकलाई यस्ता भाव सुनाइरहँदा युवतीमा शंका पर्छ। मनमनै लड्डु फुटाइरहेकी युवतीभित्र इर्श्या जाग्छ। युवकमाथि शंका गर्छे। युवकलाई आँखा तर्दै आफ्नो रिस पोख्छे। युवती रिसाएर जान्छे। अन्तिममा फकाउन केटो नै जान्छ। फकाउँछ पनि। केटोको अनुरोध पछि केटी आफ्नो भ्रमबाट मुक्त हुन्छिन्ः 

मैले पनि बुझ्दिन कुरा त 

आफै बुझ्नुपर्छ केही कुरा त

पर्खिउँ अझै कति ?

सुवेदी आफ्ना शब्दहरुमा विम्ब मात्रै खोज्दैनन्। सरलता पनि खोज्छन्। गीतका शब्द जति सरल छन्, त्यति नै टिपिकल छन्। शान्तिश्री परियार र विक्रम परियारको स्वरले थप मार्मिक बनाइदिएको छ,गीतलाई। भन्छन्, ‘मेरो गीत गाउँका बुढापाका र बच्चाले पनि बुझोस् भन्‍ने हो।’

१५ वर्ष अगाडि सुवेदी ‘घामजस्तो चम्किलो जुन हुँदैन।’ गीत ल्याएका थिए। यही गीतको सफलताले आजसम्म उनी लोकसंगीतमा सक्रिय छन्।  अहिले पनि उनी अध्ययन र गीतकर्मलाई सँगसँगै अगाडि बढाइरहेका छन्।  

गीत लेख्दा उनी एकै बसाइँमा सक्दैनन्। शब्दलाई निकैपटक केरकार गर्छन्। भन्छन्, ‘यो गीत पनि दशपटक करेक्सन गरेको थिएँ।’

गीतको भाव नमर्ने गरी विनोद भण्डारीले भिडियो बनाएका छन्। साथै कलाकार महेन्द्र गौतम र गरिमा शर्माले जीवन्त अभिनयले थप सुन्दर बनेको छ। 

गीत गाउनु मात्रै होइन्। जनमानसको मनमस्तिष्कलाई छुनु पनि हो। ‘कसको अनुमति’ गीत पनि उनको मनछुने गीत बनेको छ। बजारमा ‘भ्युज्’ खोजेर नाच्‍ने गीतको ओइरो लागिरहेको बेला यो गीतले दर्शकलाई छुट्टै आनन्द दिन्छ। र एकपटक आफ्नो स्कुले जीवनमा मन पराएको साथीको सम्झना पनि ताजा गराउँछ।

प्रकाशित: Sep 18, 2021| 08:55 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्