अछाम- अछामको रामारोशन गाउँपालिकामा भीरबाट खसेर एक युवकको ज्यान गएको छ। वडा नम्बर ५ का ३६ वर्षीय लोकेन्द्र रोकायाको पडिपाखा भीरबाट खसेर ज्यान गएको हो।
बिहान घाँस काट्न गएका बेला चिप्लो भीरबाट खसेर उनको घटनास्थलमै ज्यान गएको रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्।
लोकन्द्रकी पत्नीको पनि गत वर्ष सोही भीरबाट खसेरै ज्यान गएको थियो।
बाबुआमाको भीरबाट लडेर ज्यान गएपछि उनीहरुका एक वर्षीय छोरा र चार वर्षीया छोरीको बिचल्ली भएको छ।
घरमा रहेकी एक मात्र हजुरआमाको स्वास्थ्य अवस्था पनि नाजुक रहेको उनका आफन्त डम्बर रोकायाले बताए।
रामारोशनलगायत अछामका पहाडी क्षेत्रमा भीरबाट लडेर बर्सेनि थुप्रैको अकालमै ज्यान जाने गरेको छ।