एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिडले मायोर्कामाथि ३–० गोल अन्तरले जित निकालेको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा सम्पन्न खेलमा पाहुना टोली मायोर्काले पराजय भोगको हो।
एट्लेटिकोको जितका लागि एल्भारो मोराटाले २ र कोकेले एक गोल गरे। खेलको २९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै मोराटाले गोल गरे। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा मोराटाले व्याक्तिगत दोस्रो गोल गर्दै क्लबलाई दुई गोलको अग्रतामा पुर्याए।
पहिलो हाफको अन्त्यमा नै सहज अवस्थामा पुगेको एट्लेटिकोले दोस्रो हाफमा पनि एक गोल थप्यो। ७९ औं मिनेटमा कोकेले गोल गरेपछि घरेलु टिमले ३–०को सहज जित निकाल्यो।
जितसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको टिमलाई अर्को वर्षको च्याम्यिन्स लिगमा स्थान पक्का गर्नका लागि ७ अंक आवश्यक छ। किनभने पाँच खेल बाँकी रहेको भिल्ला रियलको ५४ अंक छ। उसले सबै खेलमा जितेमा ६९ अंक हुन्छ। त्यसैले मड्रिडलाई ७ अंक आवश्यक रहेको हो।
यता एट्लेटिको उपाधि होडबाट भने बाहिरिसकेको छ। उसले अबका सबै खेलमा जितेमा ७४ अंक बनाउने छ। शीर्षस्थानको रियल मड्रिडको पनि ७४ अंक छ। तर हेड टू हेडका आधारमा रियलले उसलाई पछि पार्ने छ। त्यसैले एट्लेटिकोको उपाधि होड गएरातिको खेलबाट टुंगिएको हो।
अंकतालिकामा दोस्रो स्थानको बार्सिलोनाको ७० अंक छ भने चौथो स्थानको सेभिल्लाको ५७ अंक छ।
यता खेलमा पराजय भेगेको मायोर्का २९ अंकका साथ रेलिगेसन जोनमा छ।