बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यातायात मजदुरको पीडा : कोही कोठाबाट निकालिँदै, कोहीको बल्नै छोड्यो चुलो

यातायात मजदुरको पीडा : कोही कोठाबाट निकालिँदै, कोहीको बल्नै छोड्यो चुलो

लकडाउनले बेरोजगार बनाउँदा दुई छाक टार्न त मुस्किल भइरहेको बेला पहिलेजस्तो नियमित कोठा भाडा तिर्न सक्ने अवस्था रहेन। दुई महिनाको कोठा भाडा तिर्न बाँकी रहेपछि घरबेटीले कोठाबाट नै निकालिदिए।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

भिडियो : गिरिप्रसाद भुसाल

धनुषाका पदमबहादुर थापामगर भक्तपुरमा बसेर बसमा सहचालकको काम गर्दै आएका थिए। लकडाउनले गर्दा चैत ११ गतेदेखि उनी बेरोजगार बने। बस चल्न छोडेपछि आम्दानीको बाटो पनि बन्द भयो।

भक्तपुर नगरपालिका–९ ब्यासीमा कोठा भाडामा बस्दै आएका पदमबहादुरले लकडाउनपछि पनि जसोतसो दुई महिनाको कोठा भाडा तिरे।

लकडाउनले बेरोजगार बनाउँदा दुई छाक टार्न त मुस्किल भइरहेको बेला पहिलेजस्तो नियमित कोठा भाडा तिर्न सक्ने अवस्था रहेन। दुई महिनाको कोठा भाडा तिर्न बाँकी रहेपछि घरबेटीले कोठाबाट नै निकालिदिए।

‘कति दिन त चिउरा, दालमोठ खाएर काटियो, घरबेटीलाई कताबाट ल्याएर भाडा तिर्नु,’ पदमबहादुरले समस्या सुनाए, ‘लकडाउन खुलेपछि कमाएर दिउँला भन्दा पनि मानेनन्, कोठाबाटै निकालिदिए।

अहिले उनी दिदी भिनाजुसँग बसिरहेका छन्। पदमबहादुरका भिनाजुु राजकुमार क्याप्छाको पनि आफ्नै पीडा छ। बस चालकको काम गरी परिवार पालिरहेका राजकुमार पनि लकडाउन सुरु भएदेखि नै बेरोजगार छन्। उनको पाँच जनाको परिवारलाई साँझ बिहानको हातमुख जोर्न निकै धौधौ छ।

त्यसमाथि घरबेटीले निकालिदिएका साला पनि राजकुमारमै आश्रित हुन आइपुगेका छन्। ‘अब सडकमा आउनुको विकल्प छैन। गाडी नचलेको बेला अरु कुनै काम गरेर भए पनि परिवारको हातमुख जोड्ने जोहो गरौँ भने पनि काम नै पाइँदैन,’ राजकुमारले भने, ‘६ दिन ढुंगा फुटाउने काम पाएको थिएँ, बिल पास भएको छैन भन्दै ठेकेदारले पैसा दिएको छैन।’

पाँच महिनादेखि उनले कोठा भाडा तिर्न सकेका छैनन्। उनलाई पनि घरबेटीले कोठाबाट निकाल्न नखोजेका हैनन्। तर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको टोलीले मध्यस्थता गरी घरबेटीलाई पछि कमाएर भाडा तिर्ने सर्तमा बस्न दिने सहमति बनेको छ।

‘बेरोजगार बनेका मजदुरलाई एकातर्फ पेट पाल्ने चिन्ता छ भने अर्कोतर्फ घरबेटीले भाडा नतिरेर निकालिदिने चिन्ता पनि थपिएको छ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भक्तपुरका अध्यक्ष युवकबहादुर खत्रीले भने, ‘तीन जना कोठाबाट निकालिएका साथीहरुलाई पछि कमाएर दिने सहमतिमा घरमै बस्ने वातावरण बनाएका छौँ।’

दिनभर कमाएर साँझ–बिहानको छाक टार्ने यातायात मजदुर सरकारले उपलव्ध गराएको राहतबाट समेत बञ्चित भएका छन्।

बाहिरी जिल्लाबाट आएर कोठा भाडामा लिएर बसेका मजदुरले उपत्यकामा अस्थायी बासिन्दा भएकै कारण सरकारी राहत नपाएका हुन्।

मजदुर संगठन बाग्मती प्रदेश सचिव प्रकाश बस्नेतले सरकारले वितरण गरेको राहत वास्तविक मजदुरका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएको टिप्पणी गरे।

‘घर हुनेले वडा कार्यालयबाट राहत पाए तर त्यही घरमा भाडामा बस्ने मजदुर भोकभोकै तड्पिनु पर्यो,’ बस्नेतले भने, ‘यातायात मजदुरलाई त सरकारले फुटेको आँखाले समेत हेरेन।’

मजदुरले काम गरेर खान्छौँ भन्दा पनि सम्बन्धित पालिकाको स्थायी बासिन्दा नहुँदा कामसमेत नपाएको बस्नेतले सुनाए।

अधिकांश मजदुरलाई व्यवसायीले लकडाउन सुरु भएलगत्तै कामबाट निकालिसकेका छन् भने कामबाट ननिकालिएका पनि बेरोजगार हुँदा चुलो बल्नै छोडेको छ।

‘तीन महिनादेखि बसको स्टेरिङ समाउन पाएको छैन, पाँच जनाको परिवार पाल्नै नसकिने अवस्था आइसकेको छ,’ बस चालक रविन चौलागाईले भने, ‘यस्तो बेला साउजीलाई भन्न पनि गाह्रो, मर्नु न बाँच्नुको अवस्थामा पुगिसकियो।’

आवश्यक सुरक्षाको व्यवस्था गरी राज्यले सार्वजनिक सवारी साधन चाँडै सञ्चालन गर्नुपर्ने चौलागाईको भनाइ छ। ‘कोरोनाले भन्दा पनि मजदुरहरु त भोकले नै मर्ने अवस्था आइसक्यो,’ अर्का चालक ज्ञानबहादुर खत्रीले भने, ‘परिवारको साँझ बिहानको छाक टार्नै मुस्किल छ । त्यसैमा घरबेटीले भाँडा मागेर हैरान बनाइसके।’ उनले पनि ‘मर्नुभन्दा बौलाउनै बेस’ भने जस्तै सरकारले चाँडो गाडी चल्न दिनुपर्नेमा जोड दिए।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले लामो लकडाउनका कारण यातायात मजदुरहरुमा भोकमरीसँगै आम्दानी नहुँदा मानसिक तनावसमेत बढेको बताए।

सरकारले पनि राहत नदिने अनि आम्दानीको अरु कुनै उपाय पनि हुँदा यातायात मजदुर मर्नु न बाँच्नुको अवस्थामा पुगेको भन्दै राईले सरकारले असार २१ पछि सार्वजनिक यातायात संचालन गर्न नदिए ‘कि त काम दे कि त खान दे’ भन्दै सडकमा उत्रिने बताए।

‘काम गरौँ काम छैन, सापटी माग्ने ठाउँ छैन, उधारो दिने व्यापारीले पनि पत्याउनै छोडे,’ राईले भने, ‘यस्तो बेला पनि सरकारले मजदुरको पीडा नबुझ्दा हामी देशको नागरिक नै हैनौँ कि जस्तो लागेको छ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउनले मजदुर वर्गको जनजीवन सबैभन्दा बढी प्रभावित बनेको छ।

यातायात क्षेत्रमा देशभर करिब ११ लाख मजदुर छन्। लकडाउनले गर्दा सबै मजदुरको जिन्दगी अस्तव्यस्त बनेको छ।

प्रकाशित: Jun 30, 2020| 18:27 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।