मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारसँग ट्याक्सी चालकको प्रश्न- आत्महत्याका लागि डोरी समाऊँ कि बाँच्नका लागि स्टेरिङ ?

सरकारसँग ट्याक्सी चालकको प्रश्न- आत्महत्याका लागि डोरी समाऊँ कि बाँच्नका लागि स्टेरिङ ?

विगत तीन महिनादेखि चल्न नपाएका भाडाका गाडी अब कम्तीमा २२ दिनसम्म यारेजमै थन्किनेछन्।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं– सार्वजनिक यातायात खुल्ला कि भनेर कुरेर बसेका हजारौं यातायात व्यवसायी र लाखौं सवारी मजदुर सरकारले सोमबार गरेको निर्णयबाट थप मर्माहत भएका छन्।

सरकारको निर्णय थियो– साउन ७ गतेसम्म आंशिक लकडाउन कायम रहन्छ, यस अवधिमा सार्वजनिक यातायात चल्न पाउने छैनन्।

विगत तीन महिनादेखि चल्न नपाएका भाडाका गाडी अब कम्तीमा २२ दिनसम्म यारेजमै थन्किनेछन्।

गाडी नचल्दा बैंकबाट ऋण लिएर सवारी किनेका व्यवसायी र सवारी चलाएरै जीवन निर्वाह गर्दै आएका मजदुर थप मारमा परेका हुन् छन्। उनीहरु के खाने र कहाँ बस्ने भन्ने अन्योलमा छन्।

यही अन्योलका बीच मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा पोखियो। ट्याक्सी चालक र व्यवसायी कि खाने बस्ने व्यवस्था गरिदेऊ कि काम गर्न देऊ भन्दै प्रदर्शनमा उत्रिए। उनीहरुको माग छ, रोगको त्रास, भोकको पीडा, ऋणको तनावबाट मुक्ति दिइयोस्।

उनीहरु भन्छन्– ‘मर्न नसकेर हामी सडकमा बौलाउन आएका हौं। सरकारले हामीलाई बाँच्न दिओस्। घरबेटी दिनहुँ भाडा माग्छन्, कति दिन लुकेर हिँड्ने? छोराछोरी यो खाऊँ र ऊ खाउँ भन्छन् कहाँबाट ल्याएर खुवाउने? बैंकले किस्ता तिर भनेर दिएको तनाव भनिसाध्दे छैन।’

यस्तो अवस्थामा अभिभावक भनिएको सरकारले घाँटी थिच्ने काम गरेको गुनासो आन्दोलित व्यवसायी र चालकको छ।

अब पनि ट्याक्सी ग्यारेजमा थन्क्याउन नसकिने निष्कर्षसहित सडकमा उत्रिएका काभ्रेका बद्री ढुङ्गाना भन्छन्– ‘सरकारले कि आत्महत्याका लागि डोरी देओस्। कि त बाँच्नका लागि ट्याक्सी चलाउन देओस्। अब अत्ति भयो सहन सकिँदैन।’

उनले चार वर्षअघि बैंकबाट लोन लिएर ट्याक्सी किनेका थिए। उनले अझै एनआईसी एसिया बैंकलाई १० लाख रुपैयाँ तिर्न बाँकी छ। लकडाउनका कारण ट्याक्सी चलाउन नपाएका उनलाई गुजारा चलाउन धौधौ छ।

बैंकले यही बेला चाँडो किस्ता तिर्न दबाब दिएको छ। लकडाउनका कारण ट्याक्सी ग्यारेजमा थन्क्याएका ढुंगानाको यो तीन महिना निकै तनाव र दबाबमा बित्यो।

उनले नेपाल समयसँग भने, ‘तनाव सहन नसकेर आत्महत्या गर्न लागेको थिएँ। तर श्रीमतीले जोगाइन्। आम्दानीका सबै स्रोत सुकेपछि, बाँच्न गाह्रो हुँदो रहेछ।’

ट्याक्सी चलाएर गुजारा चलाउँदै आएकी ईश्वरी थापा छोरीसहित काठमाडौंमा बस्छिन्। लकडाउन अवधिमा आफूसँग भएको अलिअलि पैसा र सरसापट गरेर गुजारा चलाइन्। तर, अब त्यसरी चल्ने अवस्था नभएको उनी सुनाउँछिन्।

ईश्वरी भन्छिन्, ‘अब त आफन्तले पनि सापट पत्याउन छाडे। कोठामा खाने अन्न छैन। छोरीको स्कुलबाट फी माग्न थालेका छन्। घरबेटीको कचकच सही नसक्नु छ। अब कसरी बाँच्ने?’

सरकारले राहत पनि नदिने र ट्याक्सी चलाउन पनि नदिने हो भने अब बाँच्नसमेत नसकिने अवस्था बनेको छ। ‘सरकारले कम्तीमा हाम्रा कुरा सुनिदिओस्। हामीलाई बाँच्न देओस्’, उनले भनिन्।

पाँच जनाको परिवारसहित जोरपाटीमा बस्दै आएका रामहरि लामिछानेले लकडाउन हुनुभन्दा दुई महिनाअघि बैंकबाट ऋण लिएर ट्याक्सी किनेका थिए। बैंक अफ काठमाडौंमा अझै १८ लाख रुपैया ऋण तिर्न बाँकी छ। तर, तीन महिनादेखि उनको ट्याक्सी ग्यारेजमा थन्किएको छ।

जसका कारण गुजारा चलाउन त गाह्रो भएको छ नै बैंकले गरेको ताकेका कारण तनावको पारे झनै बढेको छ। बाँच्नै गाह्रो हुने स्थिति बन्दै गएको उनको गुनासो छ।

लामिछाने भन्छन्– ‘रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थिति आइसक्यो। आज कमाएर बेलुका बाँच्नुपर्ने मान्छेलाई राज्यले अलिकति पनि सहयोग गरेको छैन।’

आन्दोलित ट्याक्सी व्यवसायी र चालकहरुले स्यानिटाइजर, मास्कसहित पछाडि दुई जना मात्र राखेर उपत्यकाभित्र कुदाउन पाऊँ भनेर सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।

सरकारले सोमबार साउन ७ गतेसम्म सार्वजनिक यातायात चलाउन नपाउने गरी लकडाउन थप गरेको छ। ट्याक्सी व्यवसायी र चालकको प्रश्न छ, ‘अत्ति भयो सरकार, अब आत्महत्याका लागि डोरी समाउँ कि बाँच्नका लागि स्टेरिङ?’

प्रकाशित: Jun 30, 2020| 15:50 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।