भारत सरकारले ५९ वटा स्मार्टफोन एप प्रयोगमा प्रतिबन्ध लगाएको छ।
चीनमा निर्मित तथा चिनियाँ नागरिक मालिक भएका एपमा भारतले प्रतिबन्ध लगाएको हो।
प्रतिबन्धमा पर्नेमा टिकटक, पब्जी, सेयर इट, युसी ब्राउजर लगायत छन्। यी एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा चल्नेछैनन्।
पछिल्लो समय भारत र चीनबीच सीमामा तनाव जारी छ। लद्दाखको गलवान घाटीमा चिनियाँ सैनिकको आक्रमणमा परी २० जना भारतीय सैनिकको ज्यान गएपछि भारतमा चिनियाँ सामान, सफ्टवेयर, मोबाइल एप आदि बहिष्कार गर्ने अभियान चलिरहेको छ।
सूचना प्रविधि अधिनियमको अनुच्छेद ६९ अनुसार भारत सरकारले विशेष अधिकार प्रयोग गर्दै ५९ एप्लिकेसनमा प्रतिबन्ध लगाएको हो। भारतको सार्वभौमसत्ता, एकता, सैन्य सुरक्षा लगायतका क्षेत्रमा खतरा भएको भन्दै यस्तो निर्णय गरिएको भारत सरकारले जानकारी दिएको छ।
