आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै एक युवकविरुद्ध किटानी दिने युवतीलाई नै चितवन जिल्ला अदालतले सजायको फैसला सुनाएको छ।
प्रहरीमा बलात्कारको प्रयास भएको भन्दै किटानी दिएर अदालतमा आफूमाथि कुनै अपराधजन्य कार्य नभएको भनी बकपत्र गर्ने युवतीलाई अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो।
न्यायाधीश हेमन्त रावलको एकल इजलासले युवतीलाई एक महिना कैद र ६३ हजार रुपैयाँ आरोपित युवक विवेक पंगेनीलाई क्षतिपूर्ति भराइदिन आदेश दिएको छ।
युवतीको गलत कार्यका कारण सरकारी स्रोतसाधनको अपव्यय भएको र फौजदारी न्याय प्रणालीप्रति नै आम नागरिकको विश्वास घट्ने कार्य गरेकाले युवतीलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) (क) र (ख) बमोजिम सजाय तोकिएको फैसलामा उल्लेख छ।
युवतीको जाहेरीका कारण युवक २०७६ मंसिर २ गतेदेखि २१० दिन नगरेको नबिराएको कसुरमा थुनामा बस्नु परेकाले प्रति दिन तीन सयका दरले हुन आउने ६३ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ।
कक्षा १२ मा पढ्ने १९ वर्षीया युवतीले निर्दोष व्यक्तिलाई अनाहकमा अभियोग लगाई शारीरिक, मानसिक कष्ट दिनुका साथै सामाजिक प्रतिष्ठामा समेत आँच आउने कार्य गरेको फैसलामा उल्लेख छ।
