नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । रौतहटका ३० वर्षिय एक पुरुषको हिजो साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ललितपुरको स्टार हस्पिटलमा असार १३ गते उनी उपचारका लागि पुगेका थिए । उनको १३ गते बेलुका नै कोरोना परीक्षणको लागि नमुना संकलन गरिएको थियो ।
तर रिपोर्ट नआउँदै असार १४ गते बेलुका निधन भएको हो । उनी ३ महिनादेखि नै निमोनियाबाट ग्रसित भएको र विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए ।
उनको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
