दाङमा महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।
उपचारका लागि अस्पताल पुगेकी एक महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने घोराही–१५ मा रहेको गोरखा हस्पिटलमा कार्यरत बबई गाउँपालिका-५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो।
दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काले छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई नाङ्गै बनाएको आरोपमा रेडियो ग्राफिक्समा काम गर्ने डाँगीलाई पक्राउ गरिएको जानकारी दिए।
खड्काका अनुसार महिलाका पतिले छातीको एक्सरे गर्दा पत्निलाई नाङ्गै बनाएको भन्दै उजुरी दिएका थिए।
छातीको एक्सरे गर्दा छातीको भागको कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएको उजुरीमा उल्लेख भएको खड्काले बताए। घटना हिजो आइतबारको हो।
