काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पारित नक्सा प्रधानमन्त्रीको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी नभएको बताएका छन्।
सोमबार दिउँसो ट्वीटरमार्फत् प्रवक्ता शर्माले भनेका छन्, ‘पारित नक्सा न प्रमले दिएको व्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी।’
शर्माले ट्वीटरमा अगाडि लेखेका छन्, ‘सिंगो देश एक ढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक !’
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा आफूले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा पास गरेका कारण भारतले प्रधानमन्त्री पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएका थिए।
साथै उनले देशभित्रैबाट पनि आफ्नो विरोध भएको बताएका छन्।
उनको भनाइप्रति विभिन्न व्यक्ति तथा राजनीतिक दलहरुले आपत्ति जनाएका छन्।
झण्डै दुई तिहाई मतसहित निर्वाचित बनेका प्रधानमन्त्रीलाई कुनै पनि शक्तिले चाहेर हटाउन नसक्ने र प्रधानमन्त्री फेर्ने कुरा प्रक्रियामार्फत् हुने भएकाले यस्तो अभिव्यक्ति ‘राष्ट्रियताको जस लिने’ बाहनाका रुपमा मात्र आएको धेरैको प्रतिक्रिया छ।
पारित नक्सा न प्रमले दिएको ब्यक्तिगत अटोग्राफ हो,न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 29, 2020
सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको `च्याप्टर क्लोज´ गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक !