ठाउँठाउँमा पहिरो आएका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। झन्डै १६ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा विरामी बोकेका एम्बुलेन्स तथा मालवाहक गाडीहरु बीच बाटोमै रोकिएका छन् ।
जिल्ला अस्पताल कालिकोटबाट विरामी लिएर प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गरेको एम्बुलेन्स पनि बाटोमै रोकिएको छ।
खाँडाचक्र नगरपालिका–१ कालिकोटकी वसन्ती शाहीलाई लिएर सुर्खेत आउँदै गरेको एम्बुलेन्स बाटोमै रोकिएको शाहीका पति राजकुमार शाहीले जानकारी दिए।
शनिबारदेखि परेको वर्षाका कारण कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिलो गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दैलेखका डीएसपी हरिबहादुर ओलीका अनुसार दैलेखको आठबीस नगरपालिका–३ जाक्सी खोला, सुर्खेत–दैलेखको सिमानामा तल्लो सेतोभीर, पादुकाखोला, साङ्गेतडा, ताल्तडा लगायतका विभिन्न ठाउँमा पहिरो गएको छ । आठविस नगरपालिकाको डोजरले पहिरो पन्छाइरहेको प्रहरीले जनाएको छ।