मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक महिनामा साढे १४ गुणाले फैलियो कोरोना, विज्ञ भन्छन्- 'नेपालमा संक्रमित ६० हजार छन्'

एक महिनामा साढे १४ गुणाले फैलियो कोरोना, विज्ञ भन्छन्- 'नेपालमा संक्रमित ६० हजार छन्'

विज्ञहरुका अनुसार अहिले जति कोरोना संक्रमितको पहिचान भएको छ, यो भन्दा पाँचगुणा बढी नेपालमा संक्रमित छन् ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं- नेपालमा पछिल्लो एक महिनामा साढे १४ गुणाले कोरोना संक्रमण फैलिएको छ।

जेठ १४ गतेसम्म संक्रमितको संख्या ८ सय ८६ थियो। त्यसको ठिक एक महिनापछि असार १४ गते नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। यस अवधिमा ११ हजार ८ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। यो १४.४१ गुणा बढी हो।

नेपालमा दैनिक ४ सयदेखि ६ सय जना नयाँ संक्रमित थपिने गरेका छन्। छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा नेपालीहरु फर्किएसँगै संक्रमण तीव्र गतिमा फैलिएको तथ्यांकले देखाउँछ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा कोरोना संक्रमितमध्ये ९० प्रतिशतभन्दा धेरै भारतबाट आएका र तिनबाट संक्रमित भएकाहरु छन्।

विज्ञहरुका अनुसार अहिले जति कोरोना संक्रमितको पहिचान भएको छ, यो भन्दा पाँचगुणा बढी नेपालमा संक्रमित छन्। जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्छन्, ‘नेपालमा कम्तीमा ५० देखि ६० हजार संक्रमित छन् तर, परीक्षणको दायरा नबढाउँदा धेरैको पहिचान हुन सकेको छैन।’

उनले परीक्षणको दायरा व्यापक नबनाउने र संक्रमितलाई बेलैमा आइसोलेसनमा नराख्ने हो भने अझै भयावह रुपमा फैलिन सक्ने बताए।

संक्रमण फैलिन नदिन परीक्षणको दायरा व्यापक बनाउनुको विकल्प नरहेको अर्का जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्। समुदाय स्तरमा परीक्षण तीव्र नबनाएसम्म कति संक्रमित छन् भन्ने एकिन नहुने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन्।

नेपालमा दिनहुँ ४ हजारदेखि ५ हजार व्यक्तिको पीसीआर विधिबाट कोरोनाको परीक्षण हुने गरेको छ। आइतबार ४ हजार ९ सय ६२ जनाको परीक्षण गरिएको छ भने शनिबार ४ हजार ६ सय ६ जनाको परीक्षण गरिएको थियो।

नेपालमा कोरोना संक्रमण देखिएको ५ महिनाको अवधि २ लाख १५ हजार ८ सय ३९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। यो अत्यन्त सुस्त भएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन्।

परीक्षणको दायरा नबढाए सयौं व्यक्तिको थाहै नपाई कोरोनाबाट मृत्यु हुने जोखिम उच्च रहेको जनस्वास्थ्यविद् डा. पाण्डे बताउँछन्। नेपालमा आगामी साउन र भदौमा झनै तीव्र गतिमा संक्रमण फैलिने सम्भावना छ।

लकडाउन खुकुलो भएसँगै समुदाय स्तरमा पनि कोरोना तीव्र गतिमा फैलिने क्रम बढेको उनी बताउँछन्। नेपालमा संक्रमितको संख्या एक लाख नाघ्न सक्ने उनको आंकलन छ।

प्रकाशित: Jun 29, 2020| 11:55 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।