सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र नेपाली कांग्रेस कार्यकर्ता बीच झडप भएको छ। झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले बताए।
आइतबार राति भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
झडपमा दुई जना प्रहरीसमेत घाइते भएका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको मसाल जुलुसमा कांग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले जानकारी दिए।
आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठीको प्रहारबाट घाइते भएको नेता सिंहले बताए। घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको छ।
यता नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।
नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले कांग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेको नेपाली कांग्रेस नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए।
नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना छ जना कार्यकर्ता घाइते भएको उनले बताए। -रासस