जनकपुरधाम- संसदको राज्य व्यवस्था समितिबाट पारित भएको नागरिकता कानुन संशोधन गर्न विधेयकको विरोधमा प्रेदश २ मा निरन्तर विरोध भइरहेको छ।
विवाह भएको नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले सात वर्षपछि मात्र नागरिकता पाउने विधेयकमा रहेको प्रवाधनको विरोधमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दिनहुँजसो प्रदर्शन गरिररहेका छन्। विधेयकमा लैङ्गिक विभेद भएको पनि उनीहरुको आरोप छ।
नागरिकता विधेयक खारेजीको माग गर्दै जनता समाजवादी पार्टी र नेपाली कांग्रेसका भातृ संगठनहरु तरुण दल, नेविसंघ र महिला संघले निरन्तर प्रदर्शन गरिरहेका हुन्।
आइतबार पनि नेपाली कांग्रेस निकट नेपाल महिला संघले विधेयकको विरोधमा प्रदर्शन गरेको छ। पार्टी कार्यालयबाट निक्लेको महिला संघको विरोध र्यालीले जनकपुरको विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो।
विरोध प्रदर्शनमा 'विभेदकारी विधेयक खारेज गर', 'लैङ्गिक विभेद अन्त्य गर', 'राज्यविहीन बनाउने प्रपञ्च चल्दैन' जस्ता नारा लगाएका थिए ।
विरोध प्रदर्शनपछि जनक चोकमा आयोजित कोणसभामा बोल्दै महिला नेतृहरुले महिलामाथि विभेद गर्ने गरी ल्याइएको विधेयक आफूहरुलाई स्वीकार्य नरहेको बताए।
नागरिकता ऐन संशोधन गर्न नेकपाले ल्याएको विधेयकले विहे गरेर नेपाल आउने विदेशी महिलाहरुलाई सात वर्षसम्म राज्यविहीन बनाउने उनीहरुको दाबी छ। त्यस्तै नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता प्राप्त गर्ने कुनै प्रावधान नै नरहनुले महिला र पुरुषबीच विभेद भएको उनीहरुको भनाई थियो।
महिला संघ धनुषाकी उपसभापति सुरिता सिंहको नेतृत्वमा भएको विरोध प्रदर्शनमा प्रदेश सांसद प्रमिला दास, महिला संघकी केन्द्रीय सदस्य निलम कर्ण, जिल्ला सदस्य अनिता श्रीवास्तव, क्षेत्रीय सचिव सम्झना वर्मालगायतकी महिला नेतृ तथा कार्यकर्ताहरुको सहभागिता थियो।
यता, जसपाले समेत पछिल्लो नागरिकता विधेयकको विरोधमा जनकपुरमा एक सातादेखि प्रदर्शन गरिरहेको छ ।
संविधानको भावना र मर्मविपरित सरकारले नागरिकता संशोधन विधेयक ल्याउन लागेको उनीहरुको आरोप छ । नागरिकता विधेयकविरुद्ध जसपाले मंगलबार देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।