काठमाडौं- सरकारले निजी प्रयोगशालालाई पीसीआर परीक्षणको बाटो खुला गर्न मापदण्ड तयार गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेपछि र प्रयोगशालामा स्वाबको थुप्रो लागेपछि सरकारले निजी प्रयोगशालालाई पनि कोरोना परीक्षणको अनुमति दिने निर्णय गरेको हो।
तर, कहिलेबाट निजी प्रयोगशालामा परीक्षण हुन्छ भन्ने अझै टुंगो लागिसकेको छैन।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका सूचना अधिकारी राजेश गुप्ताका अनुसार परीक्षणको लागि अनुमति मागेका २० वटा निजी प्रयोगशालाको अनुगमन भइरहेको छ। ती प्रयोगशालाको अनुगमन सकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि मन्त्रालयले प्रयोगशाला परीक्षणको लागि अनुमति दिनेछ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई गत जेठ २२ गते प्रस्ताव आह्वान गरेको थियो।
कोरोना परीक्षण गर्न इच्छुक देखाएका प्रयोगशाला तथा अस्पताललाई मापदण्ड बनाएर परीक्षणको लागि अनुमति दिने भने पनि अहिलेसम्म कुन–कुन अस्पताल तथा प्रयोगशालाले परीक्षण गर्ने भन्ने टुंगो लागेको छैन।
“अनुमति पाएकामध्ये ९ वटा प्रयोगशालाको अनुगमन सकिएको छ, जसमा ४ वटाले अनुमति पाउनासाथ परीक्षण प्रक्रिया अगाडि बढाउन सक्नेछन्,” सूचना अधिकारी गुप्ताले भने।
उनले काठमाडौं बाहिरका ११ वटा प्रयोगशालाको अनुगमन तीन दिनमा सकिने र मन्त्रालयलाई प्रतिवेदन बुझाएपछि अन्य प्रक्रिया अगाडि बढ्ने जानकारी दिए।
कोरोनाको पीसीआर परीक्षणको लागि हाल नेपालमा ३३ वटा प्रयोगशाला तयारी अवस्थामा रहेको भए पनि हाल नियमित २२ वटा मात्रै प्रयोगशालाबाट परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
हाल तीन सरकारी अस्पताल (वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल)को प्रयोगशालाबाट स्वतःस्फुर्त रुपमा परीक्षण गराउन चाहनेले पाँच हजार ५०० रुपैयाँ तिरेर परीक्षण गराउन पाउँछन्।
हालसम्म सरकारी निकायका प्रयोगशालामा मात्रै परीक्षण भइरहेको छ। निजी प्रयोगशालालाई परीक्षणको अनुमति पाए पनि स्वाब संकलन गर्न भने पाउने छैनन्।