मंगलबार, भदौ ९, २०८३

तारजालीले रोक्ला तिनाउको कटान ?

“डिजाइन नै सही भएन। काम गर्ने निकायले सही डिजाइन नगरि काम गरिरहेका छन्। पुल सकिन लाग्या छ। त्यस्ता तारजालीले रोक्दैन। नदीलाई यतिमा हिँड भनेर हिँड्दैन।”
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

भैरहवा– तिनाउ छेउमा एकोहोरिएर नदीको बहाव हेरिरहेका राघबेन्द्र क्षेत्री शनिबार बिहान हाम्रो आवाजले झस्किए। हामीले नमस्कार भनेपछि उनको एकाग्रता तोडियो होला सायद।

अधबैशे उमेरका उनी हरेक दिन बिहान नदी छेउमा बसेर नदीको बहाव नियाल्दा रहेछन्। उनी भन्दै थिए, “पोहोर उता ठोक्किएको थियो, अहिले यता हानेछ। जाली त लगाएका छन्, खै कति दिन छेक्छ?”

क्षेत्रीले तिनाउ नदी उकास क्षेत्रमा चार लाखमा एउटा घडेरी किनेर घर बनाएको दुई वर्ष बितेछ। गुल्मीबाट झरेका उनीसँग जग्गाको प्रमाणको रुपमा टोल सुधार समितिले दिएको प्रमाण छ। तिनाउको बाढीको कथा सुनेका उनलाई चिन्ता छ, “१२ वर्षपछि खोला फर्किन्छ भन्छन्। धारामै फर्केर आयो भने केही बच्दैन।”

२०७३ साउन ११ गते बुटवल देवीनगर हात्तीसुडको तिनाउ नदीको झोलुंगे पुल बाढीले बगाएको थियो। त्यतिबेला सात घर स्थानीय बताउँछन्।

२०३८ सालमा तिनाउमा ठूलो बाढी आउँदा पूर्व–पश्चिम राजमार्गको तिनाउ पुल नै बगाएको थियो। त्यहीँ तिनाउ नदी फुटेर तिनाउ र दानव बनेको थियो। त्यतिबेला बाढीले दाउरे टोलको एक सय ५० घर बगाएको थियो। जसका कारण सयभन्दा बढी जनाको मृत्यु भएको थियो।

२०५४ र २०६५ सालमा पनि यहाँ बाढी आएको थियो। तर, तिनाउको आसपास घर बन्ने क्रम रोकिएको छैन। बगर क्षेत्रमा दिनदिनै घरहरु निर्माण भइरहेका छन्। खोलासम्मै घर बनेको देख्न सकिन्छ।

तिनाउ नदीबारेका जानकार एवं इन्जिनियर खेटराज दाहालले तिनाउमा आउने बाढीबारे पूर्व जानकारी हुन नसके ठूलो क्षति पुर्याउन सक्ने चेतावनी दिन्छन्। तिनाउमा जोखिम बढ्नुको कारण अव्यवस्थित बस्ती नै भएको दाहाल बताउँछन्।

बुटवल उपमहानगरपालिकामा पर्ने उक्त तिनाउ खोला किनारका बस्तीहरु बाढीको उच्च जोखिममा छन्। तिनाउ खोलाको बहाव नै बन्द गर्ने गरि बनाइएका घर–टहराले सरकारको समेत टाउको दुखाएको छ।

सरकारले बारम्बार डोजर लगाएर हटाउने कोशिस नगरेको होइन। तर, ‘भोटको राजनीति’ले उक्त बस्ती हट्न सकेको छैन। बुटवल क्षेत्रमा नदी उकास क्षेत्रको बस्ती संघ, प्रदेश र स्थानीय तीनै तहको चुनावमा निर्णायक मतको रुपमा रहँदै आएको छ। जसको कारण त्रास थपिँदै गए पनि खोला किनारमा बस्ती विकासलाई कसैले रोक्न सकेको छैन।

बाढीको उच्च जोखिममा रहेका बस्तीमा सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधार विस्तार गरी सरकारले नै खोला अतिक्रमित बस्तीलाई बैधानिकता दिइरहेको छ।

तिनाउ नदी किनारमा १० हजारभन्दा बढी घर–टहरा बनाइएका छन्। नदीले किनारका चेकड्याम तथा वाल भत्काएपछि तिनाउ पुलदेखि दक्षिणतिर देवीनगर हात्तिसुड, मजुवा, दुर्गा मन्दिर क्षेत्रका सयौं घर जोखिमपूर्ण अवस्थामा छन्।

तिनाउ नदी संरक्षणका लागि जनताको तटबन्ध कार्यक्रम संचालन हुँदै आएको छ। तर, तिनाउ नदी बग्ने क्षेत्रमै बस्ती बसेका कारण तिनाउ संरक्षणको काम पनि प्रभावित भएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकासहित चार वटा नगरपालिका र डेढ दर्जन गाउँ भएर बगेको तिनाउ ४० किमी र दानव ६० किलोमिटर गरि दुवै साइडको दुई सय किलोमिटरमा जनताको तटबन्ध कार्यक्रम विभिन्न प्वाइन्टमा हुँदै आएको छ। यो तिनाउ संरक्षणको योजना बुटवलको तिनाउ पुलबाट सुरु भइ भारतीय सीमा मर्चवारसम्म पुगेको छ।

तिनाउ नदीमा दायाँ–बायाँको बस्तीले पनि यसको संरक्षणमा प्रभाव पारेको प्राविधिक बताउँछन्। नदीको दायाँ–बायाँको भाग ५०० मिटर क्षेत्र खाली हुनुपर्छ। तर, कतिपय ठाउँमा नदीको क्षेत्र अतिक्रमण भएर बस्ती बसेका कारण निकै साँघुरो गरि नदी बगेको पाइन्छ।

वातावरण तथा नदी क्षेत्रका विज्ञ इन्जिनियर दाहाल भन्छन्, “तिनाउमा अर्बाैं खर्च भइसक्यो। ९ वर्षअगाडि तिनाउको विषयमा मणिग्राममा ठूलो सेमिनार गरेको थिएँ। त्यतिबेला रोमणि पाठकले तपाईंहरुले बनाएका संरचना काम छैन भनेको अहिले पनि याद आइरहेको छ।”

नदी नियन्त्रण झारा टार्ने काम मात्रै भएको दाहालको टिप्पणी छ। उनी भन्छन्, “डिजाइन नै सही भएन। काम गर्ने निकायले सही डिजाइन नगरि काम गरिरहेका छन्। पुल सकिन लाग्या छ। त्यस्ता तारजालीले रोक्दैन। नदीलाई यतिमा हिँड भनेर हिँड्दैन।”

दाहालले तिनाउको उच्चतम बाढी आउँदा (पिक थर्ड)लाई मध्यनजर गरेर सय वर्षको डिजाइन गर्नुपर्ने सुझाव दिए। उनले पुरानो नक्सा अनुसार तीन किमि बगर क्षेत्र उल्लेख गर्दै तिनाउको पुलदेखि मणिग्रामसम्म दायाँ–बायाँ पाँच सय मिटर जोखिममा र मणिग्रमादेखि तल हजार मिटर दायाँ–बायाँ जोखिममा रहेको बताए।

उनले झोलुंगे पुल भत्किनुको मुख्य कारण तारजाली भएको तर्क गरे। उनले भने, “कद्धरबहादुर रायमाझीले मरिमेटी झोलुंगे पुल बनाए। तर, उनकै आँखाअगाडि त्यो पुल बग्यो। यदि त्यहाँ आरसिसी गरेको भए त्यो पुल भत्किने थिएन।”

 

प्रकाशित: Jun 27, 2020| 23:11 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।