मंगलबार, भदौ ९, २०८३

आपराधिक गतिविधिमा प्रहरी संलग्नता बढ्दो

‘सत्य सेवा सुरक्षणम्’ को मूल मन्त्र बोकेको प्रहरी कर्मचारी नै आपराधिक गतिविधिमा संलग्न भएपछि संगठनमा दाग त लागेको छ नै, प्रहरीमाथि नागरिक भरोसा पनि बिस्तारै घट्न थालेको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं- नेपाल प्रहरीको जिम्मेवारी समाजमा शान्तिसुरक्षा कायम गर्नु हो। ‘सत्य सेवा सुरक्षणम्’ को मूल मन्त्र बोकेको प्रहरी कर्मचारी नै आपराधिक गतिविधिमा संलग्न भएपछि संगठनमा दाग त लागेको छ नै, प्रहरीमाथि नागरिक भरोसा पनि बिस्तारै घट्न थालेको छ।

प्रहरी कर्मचारी ज्यानको कसुरसँगै भन्सार छली, लागू औषध कारोबार, वन्यजन्तु तस्करी, सुन तस्करी, अपहरण र फिरौती असुली, चोरी डकैतीमा संलग्न हुन थालेका छन्। साथै सामाजिक, आर्थिक तथा संगठित अपराधमा समेत प्रहरीकै संलग्नता बढ्दो छ।

पछिल्लो दुई दिनमा मात्रै दुई जना प्रहरी निरीक्षकसहित चार प्रहरी अनुसन्धानको घेरामा तानिएका छन्।

बिहीबार कैलालीमा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गरेका एक प्रहरी निरीक्षक रंगेहात पक्राउ परे भने सोही दिन बिहान काठमाडौंमा अर्का प्रहरी निरीक्षक लागूऔषध मुद्दामा छानबिनमा तानिए।

बुधबार हुन्डी कारोबारीसँग १० लाख रुपैयाँ असुलेको अभियोगमा काठमाडौंमा दुई प्रहरी पक्राउ परे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीलाई कानुन व्यवसायीसहित रंगेहात पक्राउ गरेको हो।

जबर्जस्ती करणीका घटना मिलाइदिन्छु भन्दै घुस लिएका कार्कीमाथि मुद्दा शाखामा बसेर आर्थिक चलखेल गर्दै आएको आरोप लाग्ने गरेको थियो।

बिहीबार नै पक्राउ परेका महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाही लागूऔषध सेवनकर्तादेखि कारोबारीसम्म रहेको खुलेको छ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले बुधबार पेप्सीकोलाबाट ठूलो संख्यामा लागूऔषध कोरेक्ससहित पक्राउ परेका अभियुक्तसँँग शाही संलग्न रहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।

हुन्डी कारोबारीबाट १० लाख रुपैयाँ असुल्नेमा महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी हवल्दार धीरेन विष्ट र प्रहरी प्रधान कार्यालयको २ नम्बर गणमा कार्यरत प्रहरी जवान विक्रम चन्द छन्।

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सीआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सीताराम घिमिरे होटल व्यवसायीसँग लिएको चार हजार रुपैयाँ घुससहित असार १ गते पक्राउ परे।

लकडाउन अवधिमा अख्तियारले सुन हिनामिना गर्ने, घुससहित पक्राउ पर्ने तथा काठ तस्करीमा संलग्न थुप्रै प्रहरीविरुद्ध मुद्दा चलाएको छ।

पछिल्लो पटक भ्रष्टाचारको मुद्दा चलेका प्रहरीमा इलाका प्रहरी कार्यालय, बिपीनगर, डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहरा पनि हुन्।

अवैध काठ तस्करी गरेर ट्याक्टरमा लोड गरिरहेको समयमा स्थानीयले काठसहित बोहोरालाई नियन्त्रणमा लिएका थिए। उनीविरुद्ध अख्तियारले ६१ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ।

चीनबाट अवैध रुपमा नेपाल भित्रिएको पाँच सय ३३ ग्राम सुन बाँडीचुँडी लिने सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित चार जना प्रहरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीका प्रहरी नायब निरीक्षक दिलबहादुर महरा ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।

पर्सामा अवैध हुन्डी कारोबारीबाट सात लाख घुस लिएको भन्दै अख्तियारले अस्थायी प्रहरी पोस्ट, इनर्वा गाउँमा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित चार जनाविरुद्ध हालै मुद्दा दायर गरेको छ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म आचरणविरुद्ध काम गर्ने एक हजार सात सय ८७ प्रहरी कारबाहीमा परेका छन्।

जसमध्ये दुई प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित तीन सय ७७ जना जागिरबाटै बर्खास्तमा परेका छन्।

‘आचरणविरुद्ध काम गर्ने प्रहरी कर्मचारीलाई जागिरबाट हटाउनेदेखि बढुवा रोक्का गर्ने, पद घटुवा गर्नेसम्मका कारबाही गरिएको छ’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले भने, ‘बदमासी गर्ने कर्मचारीविरुद्ध संगठनले कठोर निर्णय गर्छ।’

प्रधान कार्यालयका अनुसार पछिल्लो ६ वर्ष अवधिमा आचरणविपरीत काम गर्ने एक हजार आठ सय ३० प्रहरी कर्मचारी बर्खास्तमा परेका छन्।

पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी कानुन कार्यान्वयन गर्ने प्रहरी नै गैरकानुनी कार्यमा संलग्न हुँदा सिंगो संगठन बद्नाम भएको बताउँछन्।

‘एक जनाले बद्मासी गर्यो भने सिंगो संगठनको बद्नाम हुन्छ’, भण्डारी भन्छन्, ‘समाजका सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त भएकाले त्यसको असर प्रहरीमा पनि परेको छ।’

प्रहरी अधिकृत नै आचरणविपरीतका कार्यमा संलग्न हुने थालेपछि प्रहरी प्रधान कार्यालयले मातहतका कर्मचारीलाई निगरानीमा राख्न निर्देशन दिएको छ।

प्रकाशित: Jun 27, 2020| 14:10 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।