धनगढी- कैलालीमा क्वारेन्टिन बनाइएको एक विद्यालयमा कम्प्युटर चोरी भएको छ।
गौरीगंगा नगरपालिका–६ स्थित अमर माध्यमिक विद्यालयको कम्प्युटर कक्षाबाट हिजो राति दुई थान मोनिटर र चार थान सीपीयू चोरी भएको प्रअ उजिर सिंह कुँवरले जानकारी दिए।
“हिजो दिउँसोसम्म विद्यालयको कम्प्युटर कक्षाका सबै कम्प्युटर यथावत नै थिए। आज हेर्दा दुई थान मोनिटर र चार थान सीपीयू छैनन्,” उनले भने, “यसबाट दुई लाख रुपैयाँ बराबरको नोक्सान भएको छ।”
हिजो राति हावाहुरी आएको बेला कम्प्युटर चोरी भएको चौकिदारलाई उद्धृत गर्दै प्रअ कुँवरले बताए।
कम्प्युटर कक्षाको ढोका धकालेर खोलिएको इलाका प्रहरी कार्यालय, अत्तरियाका डीएसपी ज्ञानबहादुर विष्टले बताए। “ढोकामा ताला लगाए पनि धकालेरै खुल्दो रहेछ,” उनले भने।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डीएसपी विष्टले अब उपरान्त चोरीलगायतका घटना हुन नदिन सुरक्षा सतर्कता समेत अपनाइने बताए।