वातावरण संरक्षण गरी हरियाली कायम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकामा वृक्षरोपण सुरु भएको छ। शनिबार सडकको दायाँबायाँ पेटीमा वृक्षरोपण गर्दै यसको सुरुवात गरिएको हो।
अभियानअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश निर्वाचन क्षेत्र नम्बर क को वडा नम्बर २, ४ र ५ को सडक पेटीमा वृक्षरोपण गरिने बताइएको छ। हरियाली प्रवर्द्धन उपभोक्ता समितिले कार्यक्रम आयोजना गरेको हो।
प्रदेश सांसद नारायण सिलवालको पहलमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७६-७७ अन्तर्गत काठमाडौँमा हरियाली प्रवर्धन गर्न यो योजना ल्याइएको हो।
शनिबार सुरु भएको वृक्षरोपण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवाल, प्रदेश सांसद सीता अधिकारी दाहाल, प्रदेश सांसद दिपक निरौला, नेकपाका केन्द्रीय सदस्य हिमाल शर्मा, संविधानसभा सदस्य रत्ना गुरुङ लगायतको सहभागिता थियो।
काठमाडौँ महानगरपालिका २, ४ र ५ का वडाध्यक्षहरू राजेन्द्र श्रेष्ठ, मोहन विष्ट र रमेश डङ्गेलले पनि वृक्षरोपण गरेका थिए। सामाजिक दूरी कायम गर्दै भएको वृक्षरोपणमा वडा सदस्य, स्थानीय, समाजसेवीलगायतको पनि उपस्थिति रहेको आयोजकले जनाएको छ।
