काठमाडौं– पहिलो संस्करणको ए डिभिजन फुटसल असोज २ गतेबाट पोखरामा सुरु हुँदैछ। १० टिम सम्मिलित लिगमा सहभागी एक टिम लुम्बिनी फुटसल पनि हो।
सुदूरपश्चिम, लुम्बिनी र कर्णालीबाट संयुक्त छनोटबाट एक टिम मात्र छनोट हुने थियो। जसमा सहभागी भएको लुम्बिनी क्लबले तीन प्रदेशको विजेता हुँदै ए डिभिजनमा सहभागी बनेको थियो।
पछि भाग्यवश दोस्रो हुने झरना क्लबले पनि ए डिभिजन खेल्ने सौभाग्य पाएको छ। यता लुम्बिनी क्लब भने उपाधि जित्ने दाउका साथ ए डिभिजन लिगमा होमिएको क्लबका अध्यक्ष एवम् लुम्बिनी फुटसलका सञ्चालक प्रज्वल श्रेष्ठ बताउँछन्।
उपाधिका लागि फाइट गर्नुहुन्छ कि सहभागिता मात्रै भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘हामी उपाधिका लागि नै फाइट गर्नेछौं।’
उनले थपे, ‘तयारी राम्रो भएको छ। फागुनमा छनोट भइसकेपछि हामीले तयारी सुरु गरेका थियौँ। तर बीचमा कोभिड र लकडाउनले गर्दा तयारी ग्याप भयो। यता प्रतियोगिता जेठ, असार हुँदै अहिले असोजमा हुने भएको छ।’
गएको जेठमा नै ए डिभिजन लिग हुने भनिएको थियो। तर कोभिड महामारीका कारण काठमाडौं उपत्यका लागायत धेरै ठाउँमा लकडाउन भयो। र, खेलाडीले अभ्यास गर्न पाएनन्। यसकारण लिग स्थगित भयो।
‘प्रतियोगिताको मिति तीनपटक तोकियो। हाम्रो अभ्यास पनि तीन सेसनमा नै भयो। हामीले पछिल्लो समय साउन १ गतेबाट अभ्यास गरिरहेका छौं दैनिक दुई घण्टा। हिजो (मंगलबार)सम्म अभ्यास गरेको छ,’ उनले भने, ‘अब टिम भोलि पोखरातर्फ जाँदैछ। हामीले जसरी छनोटमा र त्यसको फाइनलमा नतिजा निकालेका छौं। त्यो हेर्दा लाग्छ फाइनल प्रतियोगितामा पनि राम्रो नै गर्छौं।’
एन्फाको नियमअनुसार नै अहिले क्लबमा छनोट खेलेका १० खेलाडी कायम छन् भने चार खेलाडी परिवर्तन भएका छन्। साथै प्रतियोगिताबीच आइपर्ने कोभिड–१९ र चोटको लागि उसले तीन थप रिजर्भ खेलाडी पनि राखेको छ।
खेलाडीहरु १२ जना ललितपुरबाट छन् भने एक चितवनर एक रुपन्देहीका खेलाडी छन्। उसले तयारी पनि काठमाडौंमा नै गरिरहेको छ। आज बुधबार क्लबले अमेरिका बेस्ड आइटी कम्पनी अल्फा बिटा थिटासँग सहकार्य गरेको छ। अब लुम्बिनी फुटसल क्लबलाई अल्फा बिटा थिटाले स्पोन्सर गर्नेछ।
‘मलाई पनि फुटबलसमा लगानी गर्ने चाहना भएको कारणले गर्दा लगानी गरेको हो,’ कम्पनीका नेपालस्थित सीईओ मिजेस श्रेष्ठले भने। अल्फा बिटा थिटाले लुम्बिनीका लागि चार लाख नेपाली रूपैयाँ लगानी गरेको छ।
कस्तो क्लब हो लुम्बिनी?
लुम्बिनी फुटसल २०७१ सालमा स्थापना भएको हो। स्थापना गर्ने बेलामा धेरै चुनौति रहेको अध्यक्ष श्रेष्ठ बताउँछन्। उनले भने, ‘त्यो बेलामा चितवनदेखि पश्चिम नेपालको तराईमा कहिँ पनि फुटसल थिएन। त्यो बेलामा धेरै अप्ठ्यारो भयो। काठमाडौंमा त मैदान अभावले फुटसल भयो। ठाउँ पनि व्यस्त भयो। तर रुपन्देहीमा त त्यो थिएन।’ तर अहिले रुपन्देही जिल्लाभरि सात वटा फुटसल स्थापना भएका छन्।
अहिले बुटबलमा नै फुटसल खेल्ने धेरै खेलाडी जन्मिसकेका छन्। तर प्रतियोगिता निकै उच्च स्तरको हुने भएको लुम्बिनी क्लबले धेरै खेलाडी ललितपुरका बोलाएको थियो। बागमतीको छनोट निकै उच्च स्तरको थियो। बागमतीबाट छनोट हुने अवसर पनि खेलाडीका लागि चुनौतीपूर्ण थियो।
त्यसैले ललितपुरका धेरै खेलाडी त्यतिबेला अहिले पनि लुम्बिनीमा छन्। अहिले पहिलो पटक फुटसलको ए डिभिजन लिग सुरु भएको छ। त्यसमा स्थापित हुनका लागि उनले राम्रा खेलाडी छानेको बताए।
लिगमा स्थापित भएपछि लुम्बिनी र बुटबलका खेलाडीका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने क्लबको लक्ष्य रहेको अध्यक्ष श्रेष्ठ बताउँछन्।