एजेन्सी– युरोपका शीर्ष पाँच फुटबल लिगमा पर्ने सिरी ‘ए’ पनि कोरोना महामारीपछि मैदान फर्किएको छ। गएराति टुरिनले पार्मासँग खेलेसँग सिरी ‘ए’ मैदान फकिएको हो।
यसअघि जर्मन बुन्डेसलिगा, स्पेनिस ला लिगा र इंग्लिस प्रिमियर लिग (ईपीएल) मैदान फर्किसकेका छन्। यता फ्रेन्च लिग वान भने महामारीका कारण रद्द गरिएको छ।
सिरी ए अन्तर्गत गएरातिको खेलमा टुरिनले पार्मासँग १–१ गोलको बराबरी खेलेको छ। टुरिनको मैदानमा सम्पन्न खेलमा पार्माले सुरुवाती अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकिएको हो।
सिरी ए मा गएराति नै सम्पन्न अर्को खेलमा भरोनाले घरेलु मैदानमा क्यालेग्रीलाई २–१ गोलले हराएको छ। भेरोनाको जितका लागि सामुएल डि कामीनेले दोहोरो गोल गरे भने पाहुना टोलीका जिओभान्नी साइमानले सान्त्वना गोल गरे।
जितसँगै भरोना ३८ अंक बनाएर सातौं स्थानमा छ।
खेलमा भेरोनाका फेवियो मोन्सी ३५ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए भने क्यालेग्रीका लुका क्याग्रिनीले ७० औं मिनेटमा रातो कार्ड पाएका थिए।
सिरी ए मा आज हुने खेल
एटलान्टा र सासुओलो, राति पौने १२ बजे
इन्टर मिलान र सम्पदोरिया, राति साढे एक बजे