मंगलबार रातिको खेलमा जित निकालेको बायर्नले दुई खेल बाँकी रहँदै लगातार आठौं पटक बुन्डसलिगा उपाधि जितेको छ। उसले रेलिगेसन जोनको भारडाआ ब्रोमेनलाई हराएपछि बुन्डसलिगाको उपाधि जितेको हो।
बायर्नको यो २८ औं बुन्डेसलिगा उपाधिसमेत हो। पछिल्ला ११ खेलमा लगातार जित निकालेको बायर्न ३ खेल बाँकी रहेको बोरुसिया डर्टमुन्डभन्दा १० अंकले अगाडि छ। डर्टमुन्डको ६६ अंक छ भने बायर्नले ७६ अंक बनाएको छ।
कोरोना महामारीपछि बन्द रंगशालामा फर्किएको लिगमा बुन्डसलिगा सबैभन्दा पहिले सुरु भएको थियो। प्रतियोगिता जुन २७ मा सकिनेछ। तर, खेल सकिनुअघि नै बायर्नले उपाधि जितेको हो।
ब्रोमेनको घरेलु मैदानमा मंगलबार राति सम्पन्न खेलमा लोवान्डोस्किले एक मात्र निर्णायक गोल गरे। उनले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए।पहिलो हाफको गोल नै खेलको निर्णायक गोल बन्यो। दोस्रो हाफको ७९ औं मिनेटमा अल्फेन्सो डेविसले डबल पहेँलो कार्ड खाँदै बाहिरिएपछि बायर्न १० खेलाडीमा सीमित बनेको थियो।
यता, लेवान्डोस्कीले जारी सिजनमा ३१ गोल गरेका छन्। उनी युरोपियन खेलाडीको गोल स्कोरिङ तालिकाको शीर्ष स्थानमा छन्।
उपाधि जितेसँगै बायर्नले बन्द रंगशालामा विजयोत्सव मनाएको छ। उसले गत वर्षको विजयोत्सव एलिनाज एरियाना रंगशालमा ७५ हजार समर्थकसँगै मनाएको थियो। तर, यो वर्ष कोरोना महामारीका कारण गत वर्षजस्तो अनुकूल रहेन। र, क्लबले बन्द रंगशालामै सेलिब्रेसन गरेको हो।
एजेन्सी