कोरोना संक्रमितको उपचारमा खटिएकी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमबार संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले जानकारी दिए।
‘संक्रमितको उपचारमा खटिएका सबैको स्वाब परीक्षण गर्दा एक जना स्टाफ नर्समा संक्रमण पुष्टि भएको छ,’ श्रेष्ठले भने, ‘संंक्रमितको उपचारमा खटिएर १४ दिन क्वारेन्टिनमा बसेपछि उनमा संक्रमण देखिएको हो।’
सोमबार उनीसँगै अन्य १० जनाको रिपोर्ट आएको थियो। ती मध्ये अन्य ९ जनामा संक्रमण नदेखिएको श्रेष्ठले जानकारी दिए। उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या पाँच पुगेको छ। यसअघि कञ्चनपुर र डडेल्धुरामा दुई÷दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।