काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ८४ दिनदेखि जारी लकडाउनको समय सरकारले दुरुपयोग गरेको निष्कर्ष निकालेको छ।
नेपाली कांग्रेसद्वारा गठित कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति अनुगमन समितिले कुनै ठोस कार्ययोजना र क्रियाशीलताबिना सरकारले लकडाउन लम्ब्याएको र आफूले सत्ता संघर्षमा समय खेर फालेको आरोप लगाएको छ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस समितिका संयोजक प्रकाशशरण महतले जनतालाई राहत दिने र जीवन रक्षाको दरिलो विश्वास दिलाउनुपर्ने सरकार कोभिड–१९ नियन्त्रणका नाममा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए।
उनले भने, ‘दैनिक संक्रमितको संख्या उच्च छ। अहिलेसम्म कोभिड–१९ बाट १९ जनाको ज्यान गइसकेको छ भने ७३ जिल्लामा संक्रमण फैलिएको छ। एक हप्तामै करिव साढे दुई हजार संक्रमित थपिएका छन्। ज्यान गुमाएकाहरुमध्ये अधिकांशको मृत्युपछि कोभिड–१९ पुष्टि भएको हो। क्वारेन्टाइनको अवस्था भद्रगोल छ।’
सरकार आफैले तयार गरेको सामान्य मापदण्ड पनि क्वारेन्टिनमा लागू नभएको महतले बताए।
क्वारेन्टिनमा दुई हप्ताभन्दा लामो समय बस्दा पनि परीक्षण नगरी घर पठाइएको र परीक्षण भएकाहरुको पनि लामो समय रिपोर्ट नआउँदा अन्यौलको स्थिति निर्माण भएको उनको भनाइ छ।
उनले भने, ‘कतिपय जिल्लामा कीटको अभावमा परीक्षण नै रोकिएका खबर आइरहेका छन्। क्वारेन्टाइनहरुमा स्वास्थ्य बाहेक अन्य हिंसाका घटनाहरु समेत सार्वजनिक भैरहेका छन्। कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टिनमा सामूहिक बलात्कार जस्तो जघन्य अपराध हुनु निन्दनीय छ।’
विदेशमा अलपत्र नागरिकको समयमै उद्धार गर्न, क्वारेन्टाइन व्यवस्थापन गर्न र अर्थतन्त्रलाई जोगाउने सुझाव सहितको कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई दिए पनि सरकारले कांग्रेसले दिएका सुझाव र विज्ञहरुका कुरा नसुनेको महतले बताए।
लकडाउनका बेला सत्ता निकटलाई जथाभावी पास बाँड्ने र अरुलाई आपतकालीन परिस्थितिमा पनि आवतजावत पास दिन आनाकानी गर्ने प्रवृत्ति बन्द गर्न महतले माग गरे।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको थियो।