कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेटमध्ये २० प्रतिशत रोजगारीमा केन्द्रित गरेको छ ।
कोरोना भाइरसको महामारीपछि हजारौं युवाको रोजगारी गुमेको भन्दै प्रदेशमै रोजगारी सिर्जना गर्न बजेटको ठूलो हिस्सा रोजगारमूक कार्यक्रममा केन्द्रित गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनाए। आफ्नो गाउँ आत्मनिर्भर बनाऔँ’ कार्यक्रममा मात्रै बजेटको करिब २० प्रतिशत अर्थात् ७ अर्ब बजेट विनियोजन गरिएको छ ।
त्यस्तै थप रोजगारी सिर्जना गर्नका लागि १ करोडसम्मका आयोजनाको कार्यान्वयन गर्दा मेशिन तथा उपकरणको प्रयोगमा गर्न प्रतिबन्ध लगाइने भएको छ । विकास क्रियाकलापसँगै रोजगारी सिर्जना गर्न एक करोडसम्म आयोजनाहरुमा मेसिन प्रयोगमा प्रतिबन्ध लगाउने जनाएको हो ।
श्रममूलक रोजगारीका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम, श्रमसहितको रोजगारी कार्यक्रम, रोजगामूलक पूर्वाधार विशेष कार्यक्रम, सामाजिक सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम र खाना, नाना र छाना जस्ता कार्यक्रमहरु सञ्चालन गरिने सरकारले जनाएको छ ।