नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल सकिन २४ दिन बाँकी रहँदा नयाँ आईजीपीका लागि दौडधुप तीव्र बनेको छ।
प्रतिस्पर्धामा छन्, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल।
दुई प्रतिस्पर्धीले आफ्नो पक्षमा लबिङ तीव्र पारेका छन्। तर, अस्वस्थ प्रतिस्पर्धा र एकले अर्कोलाई बदनाम गर्ने काम दुवैबाट भएको देखिएको छैन। न त आईजीपी ज्ञवाली कार्यकाल लम्ब्याउने चलखेलमा लागेका छन्।
प्रतिस्पर्धामा रहेका पाल र थापाबीच जो आईजीपी बने पनि मिलेर काम गर्ने समझदारी बनिसकेको छ। ‘आईजीपी बन्न आआफ्नो तर्फबाट सक्दो प्रयास गर्ने कुरा त भैहाल्यो। तर, जो बने पनि एक अर्कालाई सहयोग गर्ने हामीले सहमति गरेका छौं,’ पालले भने, ‘आफू नेतृत्वमा पुग्न अरुलाई बद्नाम गराउन लाग्नु भनेको सिंगो संगठनका लागि नराम्रो हो, म त त्यस्तोमा लाग्दिनँ।’
संगठन प्रमुखले कसैलाई काखा कसैलाई पाखा नगरेर काम गर्नुपर्छ भन्दै पालले आफ्नो प्रतिस्पर्धी नठानेर सबैसँग आवश्यक सुझाव लिएर अघि बढ्नुपर्ने बताए।
अर्का प्रतिस्पर्धी थापाले पनि दुवै जनामा अस्वस्थ प्रतिस्पर्धा नगर्ने सहमति भएको बताए। ‘हामी दुवै एकदमै मिल्ने साथी हौं, मित्रवत् सम्बन्ध छ,’ थापाले भने, ‘जो आईजीपी भए पनि मिलेर काम गर्छौँ।’
नेपाल प्रहरीमा यसअघि आईजीपीको दौडमा लाग्दालाग्दै एकले अर्कोलाई अस्वीकार्ने र जागिरै छोड्नेसम्मका घटना पनि भएका थिए।
नेपाल प्रहरीमा यसपटक लामो समयपछि एआईजीबाट आईजीपी छानिँदैछन्। यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सीधै आईजीपी बनाउनुपर्ने अवस्था थियो।
ज्ञवाली माघ २८ गते आईजी भएका थिए। पहिलो नम्बरमा एआईजीमा बढुवा भएका तारिणीप्रसाद लम्साल पनि सेवा हदका कारण ज्ञवालीसँगै सेवानिवृत्त हुँदैछन्।
बढुवामा सधैं सँगसँगै
पाल र थापा दुवैले एकैसाथ २०४९ वैशाख १९ गते सेवा प्रवेश गरेका हुन्। जागिर प्रवेशसँगै जागिर अवधिभर भएका हरेक बढुवामा पनि दुवै जना सँगसँगै रहे।
डीएसपी बढुवादेखि एआईजी बढुवासम्म सँगै रहेका यी दुई जना अबको बढुवामा भने सँगैसँगै हुने छैनन्। एक जना करिब २२ महिना संगठन प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् भने एक जनाले एआईजीबाटै घर फर्किनु पर्नेछ।
सुदूरपश्चिमको दार्चुलाका पालले त्यहीँबाटै सेवा सुरु गरे भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा प्रवेश गरेका थिए। प्रहरी निरीक्षकमा पहिलो नम्बरमा भर्ती भएका थापा धेरै पटक वरीयतामा पछि परे। ११ औं नम्बरमा भर्ती भएका हरि पालले आफूभन्दा माथिल्लो वरीयतामा रहेका धेरैलाई उछिनेर अगाडि आए।
२०५८ वैशाख १८ गते डीएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३ औं नम्बरमा थिए। तर, त्यसको आठ वर्षपछि २०६६ पुस २० गते एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा थिए।
२०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा थापा पहिलो नम्बरमा र पाल चौथो नम्बरमा थिए। जसमा निरज शाही दोस्रो र प्रद्युम्न कार्की तेश्रो नम्बरमा एसएसपी भएका थिए।
२०७५ असोज २० गते सरकारले ११ डीआईजी बढुवा गर्दा थापा छैटौं र पाल सातौं नम्बरमा थिए। उनीहरुभन्दा पछाडि शाही र कार्की आठौं र नवौं नम्बरमा बढुवा भए। ६० जनाले सँगै जागिर सुरु गरेकामा डीआईजीसम्म पुग्ने उक्त ब्याचका यी चार जना मात्र हुन् ।
२०७६ फागुन १५ गते सरकारले एआईजीपीको बढुवा सूची सार्वजनिक गर्दा थापा दोस्रो र पाल तेस्रो नम्बरमा एआईजीमा बढुवा भएका थिए। आईजीपीका प्रतिस्पर्धी दुवै जना व्यावसायिक, क्षमातावान र निष्कलंकित अधिकृत मानिन्छन्।
पालले जागिर अवधिको अधिकांश समय फिल्डमै बिताएका छन् भने थापाले धेरै समय फिल्डको कमान्ड गरेका छैनन्। उनी अनुसन्धान र अप्रेसनमा अब्बल मानिन्छन्।
पालले डीएसपी हुँदा अपराध महाशाखा, जिल्ला प्रहरी परिसर काठमाडौं, बौद्ध, नुवाकोट र डडेलधुरामा काम गरे। एसपी हुँदा महानगरीय प्रहरी कार्यालय काठमाडौं, जनकपुर, रुपन्देही र कास्कीमा काम गरे।
एसएसपी हुँदा अञ्चल प्रहरी कार्यालय कोसी र डीआईजी हुँदा प्रदेश २ को नेतृत्व गरेका छन्। यस्तै, विशेष ब्युरोमा रहँदा उनको भूमिका प्रशंसनीय छ। एआईजीमा बढुवा भएपछि कार्य एवं अनुसन्धान विभागको नेतृत्व सम्हालिरहेका छन्।
पाल पूर्वी टिमोर र इराक गरी दुई देशमा मिसनमा गएका गएका थिए। थापा बोस्निया, पूर्वी टिमोर र सुडान गरी तीन देशमा मिसनमा गएका थिए। जागिरको अधिकांश समय प्रहरी प्रधान कार्यालय र प्रशिक्षण प्रतिष्ठानमा बिताएका थापा डीएसपी हुँदा धादिङ र एसपी हुँदा कास्की तथा झापा प्रहरीको नेतृत्व सम्हालेका थिए।
प्रहरी प्रवक्ता भएका थापाले महानगरीय प्रहरी कार्यालयको नेतृत्व पनि सम्हालेका छन्। एआईजीमा बढुवा भएपछि थापा मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्।
थापामाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप भने लाग्ने गरेको छ। प्रहरीका पछिल्लो बढुवामा विवादास्पद प्रहरी अधिकारी तथा रोलक्रम मिचेर कनिष्ठलाई बढुवा गरेको आरोप उनीमाथि छ।
बढुवा एक्लैले गर्ने नभएर समूहले गर्ने भएकाले आफू पनि त्यो समूहको सदस्य रहेको थापाको प्रतिक्रिया छ। सरकारले यी दुई एआईजीमध्ये जसलाई चाहन्छ, उसैलाई आईजीपी बनाउन सक्छ।