प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ११० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको हो।
आइतबार प्रदेश २ को रौतहटमा सबैभन्दा बढी ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाएअनुसार रौतहटको वृन्दावन नगरपालिका, देवाही गोनाही नगरपालिका, ईशनाथ नगरपालिका, देवाही गोनाही नगरपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिका र माधव नारायण नगरपालिकास्थित क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।
७४ जना थपिएसँगै रौतहटमा मात्रै कोरोना संक्रमितको संख्या ७४४ पुगेको छ ।
पर्सामा १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पर्साको पोखरिया नगरपालिका, वीरगंज महानगरपालिका, विन्दवासिनी नगरपालिका, जिराभवानी नगरपालिका, धोबिनी गाउँपालिका, पर्सागुठी गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको छ । १७ जना थपिएसँगै पर्सामा संक्रमितको संख्या १४१ पुगेको मन्त्रालयले जनाएको छ ।
बाराका पचरौता नगरपालिकास्थित क्वारेन्टिनमा रहेका १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । बारामा संक्रमितको संख्या ९७ पुगेको छ ।
यसैगरी धनुषाको एक र सर्लाहीका ६ जनामा संक्रमण पुष्टि भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको गोपालधर्मशालास्थित क्वारेन्टिनका एक र सर्लाहीको बरहथवा र हरिपुर नगरपालिकास्थित क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनुषामा कोरोना संक्रमितको संख्या १६० र सर्लाहीमा १९४ पुगेको छ ।