काठमाडौं- काठमाडाैं प्रवेश गर्नका लागि काेराेना संक्रमण जोखिम विश्लेषण र यात्रा औचित्य पुष्टि हुने कागजातसमेत पेस गर्नुपर्ने भएकाे छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार यस्तो निर्णय गरेको हो।
कार्यालयले काठमाडौं प्रवेश गर्न र काठमाडौंबाट बाहिर जानका लागि सवारीसाधनकाे पास लिनुपर्ने नयाँ व्यवस्थासहितकाे सूचना जारी गरेकाे छ।
सूचनामा काठमाडौं प्रवेश गर्न काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमतिसहित यात्रा सुरु गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति माग गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्र प्राप्त भएपछि संक्रमण जोखिम विश्लेषण र यात्रा औचित्य पुष्टि हुने कागजात समेत विचार गरी सवारी पास जारी गरिनेछ।
यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ भने सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिसपत्र सहित कार्यालयमा सम्पर्क राख्नुपर्ने सूचनामा जनाइएको छ।
