जनकपुरधाम- प्रहरीले रौतहटबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपािलका–८, जयराजपुर बस्ने ४० वर्षीय कर्मुल्लाह अन्सारी रहेको प्रहरीले जनाएको छ। अन्सारीको साथबाट कटुवा पेस्तोल एक थान र दुई राउन्ड गोली बरामद भएको प्रहरीले बताएको छ।
गुजरा नगरापलिका जयराजपुरतर्फबाट वृन्दावन नगरपालिका–६, हर्षाहातर्फ हतियारसहित मानिस आइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, गरुडाबाट गएको टोलीले अन्सारीलाई पक्राउ गरिएको गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिएका छन्।
अन्सारीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको महतोले जनाएका छन्।
यसैगरी गरुडा प्रहरीले एक जनालाई गाँजासहित पक्राउ गरेको छ। रौतहटको कटहरिया नगरपालिका–२, हथियाहीस्थित बाग्मती सिँचाइ नहरनजिक ५३ वर्षीय महम्मद सलाक अन्सारीलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।
अन्सारी चढेको साइकलमा राखिएको झोलाभित्र लुकाएको अवस्थामा पाँच केजी गाँजा बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।