सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दमकल चालकको पीडा– चौबीसै घण्टा व्यस्त, काममा अपजस मात्रै

दमकल चालकको पीडा– चौबीसै घण्टा व्यस्त, काममा अपजस मात्रै

‘आगलागी नियन्त्रण नै भए पनि बोलाएपछि पुग्नैपर्यो। हामीलाई लकडाउन लाग्दैन।’
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

इटहरी- सरकारले चैत ११ देखि लकडाउन सुरु गर्दा थुप्रै जागिरेले बिदा पाए। इटहरी उपमहानगरका वारुणयन्त्र (दमकल) चालक मकरबहादुर महतलाई  झनै व्यस्त बनायो।

‘लकडाउन सुरु भएपछि जनता बस्ती, जुट विकास, चक्रघट्टी, इनरुवा, लौकहीदेखि धरानसम्म आगलागी भयो’, इटहरी ५ का ५७ वर्षीय महत भन्छन्, ‘आगलागी नियन्त्रण नै भए पनि बोलाएपछि पुग्नैपर्यो। हामीलाई लकडाउन लाग्दैन।’

आगलागी नियन्त्रणकै लागि जागिर खाएकाले असहज नमान्ने महतले लकडाउनका कारण भने कठिनाइ भाेग्नु पर्याे।  क्यान्सरपीडित पत्नी, दुई छोरी र एक छोराका पिता महत भन्छन्, ‘बाहिरबाट आउँदा कोरोना सर्ने डरले बूढीले बाहिरै बस्न पनि भनिन्।’ बैंकर छोरा समझदार भएकाले परिवारमा बुझाउन सजिलो भएको महत बताउँछन्।

चौबीस घन्टा खटाइदेखि गालीसम्म

औपचारिक शिक्षा नलिएका महत सवारी चलाउन अत्यन्तै पोख्त छन्। २०४० सालमा हल्का हवारीको तत्कालीन धरानमा भएको कोसी अञ्चल यातायात कार्यालयबाट लाइसेन्स लिएका थिए उनले। यस क्रममा उनले टिपर, लोडर, सार्वजनिक सवारीदेखि ट्र्याक्टरसम्म चलाए।

कालीगण्डकी जलविद्युत् परियोजना, मोरङ सुनसरी सिँचाइ आयोजनादेखि सिन्धुली भकुन्डेबेसी सडकमा काम गरेको अनुभव छ उनीसँग। इटहरीका प्रथम मेयर सर्वध्वज साँवाको आग्रहमा लोडर चालक भएकाे उनले बताए। 

तत्कालीन समयमा अन्य राम्रो कमाइका विकल्प भए पनि भविष्यसम्म नियमित कमाइ हुने भएर स्थानीय निकायमा लोडर चालकका रुपमा जोडिएका थिए उनी। साँवाको बहिर्गमनसँगै लोडर नचलेपछि उनी केही समय खाली रहे। पछि ट्रयाक्टर कुदाउन थाले। वारुणयन्त्र आएपछि भने उनी छानिएर त्यता लागे। वारुणयन्त्र चलाएको दशक नाघ्यो।

चार हजार १ सय तलबबाट सुरु उनको तलब बढेर करिब २७ हजार पुगेको छ। आफ्नो दैनिक खटाइको आधारमा भने सेवासुविधा थोरै भएको महत बताउँछन्।

‘म साँझ ६ बजे आएर भोलि साँझ ६ बजेमात्रै अर्को साथीलाई पालो दिएर घर जान्छु’, वारुणयन्त्रको दैनिक व्यस्तताबारे महत भन्छन्, ‘यत्ति खटेर पनि जस भने कहिल्यै पाइँदैन। काममा गाली र पीडा मात्रै छ।’
आठ हजार लिटर पानी अट्ने वारुणयन्त्र चलाएर आगलागीमा पुग्दासमेत स्थानीयले सकारात्मक नलिने महत बताउँछन्। सूचना आउनासाथ पुग्दा पानी सकिएर भर्न आउँदासमेत दमकल आएर भन्ने गाुनासो धेरै भोगेका छन् महतले।

उनी भन्छन्, ‘दमकल गएर पानी भर्न फर्किए सुरुमा आउनेले मात्रै देख्छन्। पछि आउनेले पुनः पानी भरेर आएकालाई ढिलो आएको भन्दै उजुरी नै गर्छन्।’

इटहरीमा भएका दुईवटा वारुणयन्त्रमा एउटा बिग्रिएर थन्किएको दुइ वर्ष पुग्न लाग्यो। बाँकी एउटा वारुणयन्त्रमा पनि पालोपालो काम गर्दा भ्याइनभ्याइ हुन्छ महतलाई।

इटहरी उपमहानगरपालिकाको गेटअगाडि भेटिएका महतले भने, ‘म त चौबीसै घण्टा ड्रेसमै हुन्छु। सुत्दा पनि जुत्ता मात्रै खोल्ने हो।’ लुगा फेरेर सुत्ता फोन आएमा ढिलो हुने महत बताउँछन्।

‘हामीलाइ मान्छेले बसेको मात्रै देख्छन् काम गरेको देख्दैनन्’, महत भन्छन्, ‘दमकल चालकको जिन्दगी भनेको उत्तानो परेर धागोमा तीन किलोको ढुंगा राखेर सु्तेजस्तै हो। कतिबेला झर्छ र छातीमा पर्छ थाहा हुँदैन।’

प्रकाशित: Jun 14, 2020| 11:30 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।