सुर्खेत- ३२ दिनसम्म पनि पीसीआरको रिपोर्ट नआएपछि आन्दोलित बनेका दैलेखका कोरोना संक्रमितहरुमाथि प्रहरीले निर्मम ढंगबाट कुटपिट गरेको छ ।
महिना दिन नाघ्दा समेत रिपोर्ट नदिएर आफूमाथि अत्याचार गरेको भन्दै शनिवार नारायण नगरपालिकास्थित त्रिभुवन माविको क्वारेन्टाइनमा राखिएका संक्रमितहरु सडकमा निस्किएका थिए ।
आन्दोलित बनेका उनीहरुमाथि प्रहरीले लाठी बर्साएको हो । प्रहरीको कुटपीटबाट चार जना संक्रमित घाइते भएका छन् । एक जनाको टाउको फुटेको छ ।
घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नारायण नगरपालिकाका विभिन्न वडाका कोरोना संक्रमितहरुलाई त्यही विद्यालयमा राखिएको छ ।
२९ जना संक्रमितसहित ४३ जनालाई सँगै राखिएको वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिए । उनीहरु ३२ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि रिपोर्ट नआएको र घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
दैलेखमा शनिवारसम्म संक्रमितको संख्या पाँच सय नाघेको छ। यसले उनीहरुको उपचार र व्यवस्थापन भद्रगोल बनेको छ। स्थानीय तहले थेग्न नसकेपछि संक्रमितहरु सडकमा उत्रिन थालेका हुन्।
आफूहरुको व्यवस्थापनमा लापरबाही भएको, उपचार तथा परीक्षणमा ढिलाइ गरिएको र आइसोलेसनको नाममा क्वारेन्टाइनमै थुन्ने काम भएको संक्रमितहरुकाे भनाइ छ ।