भैरहवा- चालू वर्षको बजेटमा रुपन्देही क्षेत्र नम्बर ३ मा सडक निर्माणलाई प्राथमिकता दिइएको छ।
बजेटमा समेटिएका योजनामध्ये मगरघाट–मर्चवार कृषि सडक प्रमुख हो। रुपन्देही क्षेत्र नम्बर ३ र ४ मा पर्ने यो सडकका लागि ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
तिनाउ नदी करिडोरमा निर्माण हुने उक्त सडकले रुपन्देहीको उत्तरी र दक्षिणी क्षेत्र जोड्नेछ।
समरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला उक्त सडकले जिल्लाको दक्षिणी क्षेत्रको उत्पादन बुटवल बजारसम्म लैजान सहज हुने बताउँछन्। उनले भने, “मर्चवारको कृषि उपज बजार लैजान सडकले ठूलो सहयोग दिनेछ।”
रुपन्देही क्षेत्र नम्बर ३ कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालको निर्वाचन क्षेत्रसमेत हो।
यो क्षेत्रको सियारी गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने कम्हरिया–मेडरहवा सडक निर्माण गरिँदैछ। उक्त सडकका लागि चालू वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन भएको छ। यी दुई सडकमा ११ वटा पक्की पुलसमेत निर्माण गरिँदैछन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसालका स्वकीय सचिव मनोज रिजालले रुपन्देही क्षेत्र नम्बर ३ मा सडक र पुल निर्माणलाई प्राथमिकता दिइएको बताए।