काठमाडौं- प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ। विधेयकमा मतदान हुँदा पक्षमा २५८ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो।
प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि विधेयकमाथि मतदान भएको थियाे। २७५ सदस्यीय प्रतिनिधिसभामा उपस्थित सबै २५८ जनाले पक्षमा मतदान गरेका थिए। मत परिणाम घाेषणा गर्दै सभामुख अग्निप्रसाद सापकाेटाले विधेयक दुइ तिहाइभन्दा बढी मतले पारित भएकाे बताए।
भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न संविधान संशोधन प्रस्ताव ल्याइएको हो।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। विभिन्न दलका शीर्ष नेताले प्रस्तावको समर्थन गरेका थिए।